बैतडीमा प्रत्यक्षतर्फ १२ हजारभन्दा बढी मत बदर

२६ मंसिर २०७४, मंगलवार ०५:०३

मंसिर २६, बैतडी । मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२ हजारभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा ‘क’ मा ३८ हजार १८ मत खसेकामा तीन हजार १३६ मत बदर भयो भने (ख) मा ३८ हजार १५५ मत खसेकामा दुई हजार ५९० मत बदर भएका छन् । समग्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र प्रतिनिधिसभामा कूल खसेको मतमध्ये आठ दशमलव नौ प्रतिशत मत बदर भएको छ ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढेको हो । जिल्लामा १८२ मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिए पनि स्वयंसेवक नै मतदाता शिक्षाका विषयमा अलमल हुँदा बदर मतको संख्या बढेको स्थानीयवासीले बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा दुई दशमलव ३५ प्रतिशतमात्रै मत बदर भएको थियो । ढिलो गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनुले पनि बदर मतको संख्या बढेको हुन सक्ने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमको भनाइ छ । बदर मतले मतपरिणाममा समेत असर पुग्ने जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थी बताउनुहुन्छ ।

मतदाता शिक्षा स्वयंसेवकहरु औपचारिकताका लागि मात्रै गाउँघरमा पुग्ने गरेकाले पनि मतदाता शिक्षा प्रभावकारी नभएको हो । समानुपातिकतर्फको मतगणना जारी रहँदा प्रत्यक्षतर्फको भन्दा समानुपातिकमा बढी मत बदर भएको मुख्य निर्वाचन अधिकृत गौतमको भनाइ छ ।