बिरामीको मृत्युपछि ओम र वीर अस्पतालमा लफडा, स्वास्थ्य मन्त्रालयले थाल्यो छानविन

२८ भाद्र २०७४, बुधबार १५:२६

काठमाडौं– उपचारका क्रममा बिरामीको मृत्यु भएपछि राजधानीका दुई अस्पतालमा लफडा भएको छ । ओममा बिरामीका आफन्तले डाक्टरको लापरबाहीले आफन्तको ज्यान गुमेको आरोप लगाउँदै नाराबाजी तथा घेराउ गरेका हुन् भने वीरमा डाक्टरले अभद्र व्यवहार गरेको आरोप लगाइएको छ ।

चावहिल स्थित ओम अस्पतालमा बुटवलकी ४० वर्षीया कमला भट्टराईको मृत्यु भएको हो । उनी नाकको कुरकुरे हाड सोझ्याउन केही दिनअघि अस्पताल भर्ना भएकी थिइन् ।

डाक्टरले उपचारमा लापरबाही गरेकाले ज्यान गएको भन्दै भट्टराईका आफन्तले निष्पक्ष छानविन सहित क्षतिपूर्तिको माग गरेका छन् ।

यो घटनाको छानविन गर्न अस्पतालले स्वास्थ्य मन्त्रालयलाई गुहोरेको छ । ओम अस्पतालमा बिरामीका आफन्तको तोडफोडबाट क्षति पुगेको अस्पताल निर्देशक बाबुकाजी कार्कीले बताए । लापरबाहीका कारण नभइ उपचारका क्रममा बिरामीको मृत्यु भएकाले छानविन गरिदिन मन्त्रालयलाई गुहारेका उनले बताए ।

यसैगरी वीर अस्पतालमा एक चार वर्षीय बालकको मृत्यु भएको छ । दिमागमा पानी बग्ने समस्याको उपचारका लागि ल्याइएका उनको शल्यक्रिया भएको तीन दिनपछि मृत्यु भएको हो । गम्भीर प्रकृतिको अप्रेशन भएकाले शल्यक्रिया अघि नै जोगाउन सकिने सम्भावना कम रहेको अवगत गराइएको अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले बताए ।

तर, बालकको मृत्युपछि आफन्तलाई डाक्टरलाई दोष लगाएर तथानाम गाली गरेको अस्पतालले जनाएको छ । बुधवार राति आफन्तले एकोहोरो गाली गरेपछि ड्युटीमा रहेका डाक्टरले चुप लगाउन कोशिश गर्दा भनाभन भएको अस्पतालका निर्देशक डा बस्नेतले बताए । उनले भने, ‘उहाँहरुले गाली गर्न थालेपछि ड्युटीमा रहेका डाक्टर साहेबहरुले प्रतिक्रिया जनाउनुभएको हो ।’

आफन्तले भने डाक्टरले आफूलाई झ्यालबाट फालिदिने धम्की दिँदै अभद्र व्यवहार गरेको र उनैले आफ्नो बच्चाको ज्यान लिएको आरोप लगाएका छन् । अस्पतालले घटनाको निष्पक्ष छानविन गर्ने बताएपनि स्वास्थ्य मन्त्रालयले नै छानविन गर्नुपर्ने आफन्तले माग राखेका छन् । निर्देशक डा बस्नेतले भने, ‘मन्त्रालयमा उहाँहरुको पहुँच रहेछ । त्यतैबाट छानविन गराउने भन्नुभयो । हामीले छानविन गरिदिन लेखि पठाएका छौं ।’

ओम अस्पतालको घटना छानविनका लागि मन्त्रालयले प्रक्रिया थालेका छ । मन्त्रालयका डा विकास देवकोटालाई प्रारम्भिक अनुसन्धानका लागि खटाइएको चिकित्सा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठले जानकारी दिए ।

वीर अस्पताल बारे मौखिक जानकारी आएपनि पत्र आइनसकेकाले भोलि मात्रै कमिटि गठन हुन सक्ने उनले बताए ।