बाम एकताका लागि बबी चाम्लिङको संयोजकत्वमा जिल्ला संयोजन समिति गठन

८ कार्तिक २०७४, बुधबार ०२:४९

कात्तिक ८, काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताका लागि केन्द्रमा संयोजन समिति गठन भएको बीस दिनपछि खोटाङमा पनि समिति गठन गरिएको छ । नेकपा (एमाले) का जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङको संयोजकत्वमा मंगलबार सात सदस्यीय बाम एकता संयोजन समिति गठन गरिएको हो ।

समितिको सहसंयोजकमा नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष देवान किराती (पृथ्वी) रहेको छ भने सदस्यमा एमालेका उपाध्यक्ष रामप्रसाद दंगाल, सचिव देवविक्रम राई तथा माओवादी केन्द्रका कोषाध्यक्ष दीपक पाण्डे (आकाश) र सचिवालय सदस्य सुरेश राई रहेका छन् । संयोजन समितिले मंगलबार दिक्तेलमा दुवै पार्टीको अगुवा कार्यकर्ता भेलासमेत गरेको थियो ।

दिक्तेलस्थित समीक्षालय हलमा आयोजना गरिएको कार्यक्रममा एकताको भाव देखाउन दुवै पार्टीका नेताबीच चुनाव चिह्न साटासाट गरिएको छ । एमालेको चुनाव चिह्न माओवादी उम्मेदवारले र माओवादीको चुनाव चिह्न एमालेका उम्मेदवारबीच साटासाट गरेर एकताको भाव प्रकट गरेका हुन् ।

भेलामा आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर एक हजार ७०० सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ । बाम एकता संयोजन समितिका संयोजक तथा एमाले अध्यक्ष चाम्लिङको संयोजकत्वमा गठन गरिएको प्रचारप्रसार समितिको सहसंयोजकमा माओवादी केन्द्रका अध्यक्ष पृथ्वी रहेको छ । प्रदेशसभामा दुई क्षेत्र रहेको जिल्लाको १ नं क्षेत्रमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई संयोजक र एमालेका क्षेत्रीय अध्यक्ष सुरेन्द्र राई सहसंयोजक रहेको ७७७ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ ।

यस्तै, प्रदेशसभा क्षेत्र नं २ मा एमाले उपाध्यक्ष दंगाल संयोजक र माओवादी केन्द्रका कोषाध्यक्ष आकाश सहसंयोजक रहेको ७७७ सदस्यीय नै प्रचारप्रसार समिति गठन गरिएको छ । जिल्लाबाट प्रतिनिधिसभाका लागि एमालेका केन्द्रीय वैकल्पिक सदस्य तथा पूर्व सांसद विशाल भट्टराई र प्रदेशसभा नं १ बाट एमालेका केन्द्रीय वैकल्पिक सदस्य राजन राई र प्रदेशसभा नं २ बाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामकुमार राई (पासाङ) उम्मेदवार बननेको छ । दुवै पार्टीले तीनैजना उम्मेदवार साझा भएकाले संकुचित नहुन भेलामा सहभागी कार्यकर्तालाई निर्देशन दिएका छन् ।