बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो भुल -अध्यक्ष दाहाल

१० मंसिर २०७४, आईतवार १०:००

मंसिर १०, चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलवश भएको गल्ती बताएका छन् ।

माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आज बिहान माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैं सम्मान रहेको बताए। प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। १२ वर्षअघि सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले थापेको विद्युतीय धरापमा यात्रु बस परेर सोही ठाउँमा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए। सोही घटनाका कारण राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा माओवादी आलोचित बनेको थियो। माडीको अयोध्यापुरीबाट नारायणगढ गईरहेको ना२ख ३२४५ नम्बरको बसलाई कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा माओवादीले एम्बुसमा पार्दा सो घटना भएको थियो। विसं २०६२ जेठ २३ गते घटना भएको हो ।

घटनापछि पहिलो पटक प्रचण्ड बाँदरमुढे पुगेका हुन्। यसअघि १२ वर्षको अवधिमा घटनास्थलमा बनेको स्मारकमा प्रचण्ड जाने कार्यक्रम पटक पटक तय भएको भएपनि मिलेको थिएन। चितवन क्षेत्र नं ३ बाट प्रचण्ड वाम गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। चुनावी प्रचारका लागि माडीको बाँदरझुला जाने क्रममा प्रचण्ड बाँदरमुढे हुँदै गएका हुन्। आज दिउँसो बाँदरझुलामा घरदैलो र चुनावी सभा हुँदै गरेको राससले समाचार उल्लेख गरेको छ ।