बंगलादेशको घरेलु मैदानमा भएको तेस्रो खेलमा नेपालको ६ विकेटको जीत

१९ कार्तिक २०७४, आईतवार १२:५२

कात्तिक १९, काठमाडौं। टेष्ट मान्यता पाएको देश बंगलादेशको क्रिकेट टिममाथि नेपाली क्रिकेट टिमले ६ विकेटको शानदार जीत हात पारेको छ ।

बंगलादेशको घरेलु मैदानमा भएको तेस्रो खेलमा नेपालले जीत हात पारेको हो । यसअघिका २ खेल भने नेपालले गुमाएको थियो । पहिलो खेलमा नेपाल ३ विकेटले र दोस्रो खेलमा १२३ रनले पराजित भएको थियो । तीन खेलको सिरिज भने नेपालले २–१ ले गुमाएको छ । आगामी कार्तिक २३ गतेदेखि मलेसियामा हुने यु–१९ एसिया कपको तयारीको लागि नेपाली युवा टोली बंगलादेशको भ्रमणमा छ ।

 

तेस्रो खेलमा ओपनर चलेपछि नेपालको जीत सहज भएको थियो । नेपालका लागि ओपनरहरु आसिफ शेख र जितेन्द्र सिंहले महत्वपूर्ण १ सय ३९ रनको साझेदारी गरे । पहिलोपटक यु–१९ राष्ट्रिय टोलिमा परेका जितेन्द्रले ४५ रन बनाए । १०९ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । अर्कोतर्फका ओपनर आसिफले भने निकै आक्रामक पारी खेले । उनले ८८ बलमा ९० रन बनाउँदा ९ चौका र ३ छक्का प्रहार गरे । कप्तान दिपेन्द्र सिंह ऐरी २७ र भीम सार्की १३ रनमा अविजित रहे । अनिल शाह १५ र रोहित पौडेलले २५ रन बनाए ।

 

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशको यु–१९ टिमले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २२५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित लक्ष्य ४६ ओभर ३ बलमा पूरा गरेको हो । नेपालका लागि शहाब आलमले ३, अनिल शाहले २ र कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए । बंगलादेशका लागि अनिमुल इस्लामले अविजित ८० रन बनाए । मोहम्मद रकिबले ३९, पिनाक घोषले २३, रोबिल हकले २१, अफिफ हुसेनले १८ र सेफ हसनले १७ रन बनाए ।