प्रहरीले पत्र काटेपछि दरबारमार्गका व्यवसायी ‘फरार’

१२ कार्तिक २०७४, आईतवार ०३:४९

कात्तिक १२, काठमाडौं। लत्ताकपडा, जुत्ता, घढीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका ब्यवसायीहरु सम्पर्कविहीन भएका छन् ।

महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको जानकारी पाएपछि उनीहरु सम्पर्कमा आएका छैनन् ।  ‘थप अनुसन्धान प्रक्रियाका लागि व्यवसायीलाई पत्र काटेका थियौं,’परिसरका डिएसपी बेलबहादुर पाण्डेले भने, ‘तर व्यवसायी फरार छन् ।’

उनका अनुसार ब्यवसायीहरु पसलमा कामदार राखेर सम्पर्कविहीन भएर बसेका छन् । व्यवसायी फरार भएपछि कारबाही प्रक्रिया नै प्रभावित भएको छ ।   आपूर्ति ब्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले भदौं १९ र २१ गते दरबारमार्गका पसलमा अनुगमन गर्दा अत्याधिक नाफा लिने गरेको फेला परेपछि ९ वटा पसलमा सिल गरिएको थियो ।

यता दरबारमार्ग क्षेत्रका ब्यापारीको साझा संस्था दरबारमार्ग विकास बोर्ड अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले व्यवसायीहरु फरार नभएको दावी गरे । उनले प्रहरीले भन्नेवित्तिकै भेट्नैपर्छ भन्ने जरुरी नभएको बताए ।