प्रहरीको आँखा अगाडिबाटै लाखौँको मोबाइल चोरी

११ कार्तिक २०७४, शनिबार ०९:५४

मन्जिल कन्दङ्वा, प्रशिक्षार्थी पत्रकार

 

कात्तिक ११, काठमाडौँ । राजधानीको जोरपाटी स्थित ‘स्मार्ट मोबाइल सप’ बाट लाखौँको मोबाइल प्रहरी बिट नजिकैबाट शुक्रबार राती चोरी भएको छ ।

शुक्रबार बेलुका साढे ७ बजे पसल बन्द गरी डेरा गएको बेला चोरी भएको पसल सञ्चालक केदार सिलवालले बताए । ‘बिहानै सटर बिग्रिएको देखेपछि मैले उहाँलाई भनेको थिएँ’, मोबाइल पसल नजिकैका कस्मेटिक पसल सञ्चालक विजय सिलवालले भने ‘सटर अलिकति खुलेको थियो ।’

साढे ३ लाख बराबरको २२ थान स्मार्ट मोबाइल फोन, एक थान ल्यापटप र रु. ६ हजार नगद समेत चोरी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चोरी गर्नेको खोजी भइरहेको बताएको छ ।