प्रदेश ५ सरकार: कोरोना संक्रमणबाट मृत्यु हुने परिवारलाई १ लाख रुपैयाँ दिने

२१ जेष्ठ २०७७, बुधबार ०७:४९

बुटवल । प्रदेश ५ सरकारले कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

कोरोनाबाट मृत्यु हुनेको शव बोक्ने वाहन अभाव भएकाले शव बोक्नका लागि दुई वटा शववाहन खरिद गर्न दुईवटा अस्पताललाई १५–१५ लाख रुपैयाँ दिने निर्णय भएको उनले बताए । यो रकम दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताल र नेपालगन्जको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्थायी अस्पताललाई दिने निर्णय भएको छ ।

यस्तै प्रदेश सरकारले कोरोना कोष निर्देशिका परिमार्जन गरी कोरोना विशेष अस्पतालमा खटिने प्रहरीलाई खाना खर्च र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीलाई पनि भत्ताको व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष (स्थापना र सञ्चालन) निर्देशिका पहिलो संसोधन २०७७ स्वीकृत गर्दै यस्तो सुविधा दिने निर्णय भएको हो ।

मन्त्री चौधरीका अनुसार बैठकले लैंगिक सम्पर्कविन्दु व्यवस्थापन र परिचालन कार्यविधि २०७७ र प्रदेश बालक्लब सञ्जाल गठन तथा सञ्चालनसम्बन्धि कार्यविधि २०७७ पारित गरेको छ ।