प्रदेश प्रमुख र अस्थायी राजधानी एक साताभित्र

८ पुष २०७४, शनिबार ०१:५७

पुस ८, काठमाडौं । सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्ति गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक प्रणालीको मत परिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । आयोगले शुक्रबार प्रदेशसभामा समानुपातिकतर्फ दलहरुले पाएको मतपरिणाम सार्वजनिक गरेको छ ।

अब आयोगले सीटका आधारमा विजयाी उम्मेद्वारको घोषणा गर्नेछ । र, त्यस्तो प्रतिवेदन सात दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने व्यवस्था छ । तर, अझै पनि प्रदेश प्रमुख नतोकिएकाले सरकारलाई दबाब बढेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले बिहीबारसम्म प्रदेशको राजधानी र प्रमुख नियुक्ति भइसक्ने बताए । सरकारले अघिल्लो बिहीवार नै प्रदेशको राजधानी र प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेको थियो । तर दलहरुसँग सहमति गर्न खोजेकाले ढिला भएको उनले बताए । ‘शुक्रबार सर्बदलिय बैठक राखिएको थियो ।, सकेसम्म राजनीतिक सहमतिका आधारमा निार्णय गर्न भनेर कुरेको हो । अब सरकारले आफ्नै तरिकाले निर्णय लिन्छ,’ परियारले भने ।

शुक्रबारको बैठकमा प्रदेश प्रमुख नियुक्ति गर्ने विषयमा कुनै सहमति हुन नसकेकाले अब सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्ति गर्ने उनको भनाई छ । –नयाँ पत्रिका