प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान

२० आश्विन २०७४, शुक्रबार ०३:४५

असोज २०, काठमाडौं । निर्वाचन आयोगले तीन चरणमा गरी ६ अर्ब ८९ करोड ६६ लाख ७६ हजार ३५४ रुपैयाँ खर्च भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको स्थानीय तह निर्वाचनको खर्च विवरणअनुसार दुई चरणका निर्वाचन अर्थात असार मसान्तसम्म ६ अर्ब ३ करोड ३ लाख ९९ हजार ५३८ खर्च भएको थियो । यसमा तेस्रो चरणको निर्वाचन भएको २ नम्बर प्रदेशको निर्वाचन सामाग्री खर्च समेत जोडिएको छ ।

 

त्यसैगरी असोज २ गतेको निर्वाचन सम्पन्न गर्दासम्म ८६ करोड ६२ लाख ७६ हजार ८१६ रुपैयाँ खर्च भएको छ । यो खर्च निर्वाचन आयोगमार्फत भएको खर्च मात्रै भएको आयोगले जनाएको छ । सुरक्षा निकायहरुको खर्च यसमा जोडिएको छैन । स्थानीय निर्वाचनका लागि पनि आयोगको माग अनुसार सरकारले १० अर्ब २७ करोड बजेट छुट्याएको थियो । तर, एकै चरणका लागि माग गरिएको रकम तीन चरणमा हुँदा समेत ६ अर्ब ८९ करोड मात्रै खर्च भएको आयोगले जनाएको छ ।  आयोग स्रोतका अनुसार एकै चरणमा चुनाव भएको करिब ५० करोड कम खर्च हुन सक्थ्यो । चुनाव तीन चरणमा गर्दा कर्मचारी भत्ता र भाडामा खर्च बढेको हो ।

 

यसैबीच मंसिर १० र २१ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि करिब १० अर्ब खर्च हुने आयोगले अनुमान गरेको छ । सोहीअनुसार सरकारलाई जानकारी गराएपनि बजेट निकासा भने आवश्यकता अनुसार सरकारले गराउने अयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । “हामीले १० अर्ब रुपौयाँ खर्च अनुमान गरेका छौं,” उनले भने, “यो रकम एकैपटक भन्दा आवश्यकताअनुसार निकासा हुने सरकारबाट आश्वासन पाएका छौं ।”  यो खर्च सुरक्षा बाहेक आयोगमार्फत मतपत्र छपाई, निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा, निर्वाचनका लागि आवश्यक सामाग्रीको लागि गरिने आयोगले जनाएको छ ।