प्रदेशसभाको समानुपातिक नतिजा आज घोषणा हुँदै

७ पुष २०७४, शुक्रबार ०३:५०

पुस ७ काठमाडौं। राजनीतिक दलहरूले सातवटै प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गर्ने सिट सङ्ख्या शुक्रबार पाउने भएका छन् । आज बिहान १० बजे बस्ने निर्वाचन आयोगको बैठकले दलहरूले प्राप्त गर्ने सिट सङ्ख्या घोषणा गर्ने तयारी भएको जानकारी निर्वाचन आयोगले दिएको छ ।

निर्वाचन आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले समानुपातिक निर्वाचन प्रणालीतर्फ १ देखि ७ नम्बर प्रदेशसम्म दलहरूले प्राप्त गर्ने सिट सङ्ख्याको टुङ्गो लागेको बताए । उनले सातवटै प्रदेशमा कुनकुन राजनीतिक दलले डेढ (१.५) प्रतिशतभन्दा बढी मत प्राप्त गरे र कुनकुन दलले प्राप्त गर्न सकेनन्, त्यसको विवरण पनि तयार भएको जानकारी दिनुभयो । प्रदेशसभामा डेढ प्रतिशत मतसीमा (थ्रेसहोल्ड) भन्दा बढी मत प्राप्त गर्ने दलले मात्रै सिट सङ्ख्या पाउने व्यवस्था छ ।
सचिव पौड्यालले सातवटै प्रदेशको समावेशी समूहअनुसारको विवरण तयार भई आज बिहान १० बजे बस्ने आयोगको बैठकमा प्रस्ताव पेस गरिने जानकारी गोरखापत्रलाई दिनुभयो । समानुपातिक निर्वाचन प्रणालीतर्फका कर्मचारीहरू बिहीबार राति अबेरसम्म पनि दलहरूलाई पठाउने विवरणको तयारी गर्ने कार्यमा व्यस्त थिए ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले बुधबार गोरखापत्रसँग कुरा गर्नुहुँदै बिहीबार साँझसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फको नतिजा घोषणा गरिने बताए पनि बिहीबार प्रस्ताव तयार हुन ढिला भएपछि दलहरूले प्राप्त गर्ने सिट सङ्ख्या घोषणा गर्ने कार्य शुक्रबार सरेको हो ।
प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार राजनीतिक दलहरूले सिट सङ्ख्या पाएको सात दिनभित्र बन्दसूचीमा रहेका उम्मेदवारहरूबाट विजयी हुने उम्मेदवारको विवरण आयोगमा बुझाउनुपर्नेछ । दलहरूले पठाएको उम्मेदवारहरूको विवरण समावेशी समूहअनुसार नभएमा आयोगले सच्चाएर ल्याउनका लागि थप तीन दिनको समय दिनसक्ने निर्देशिकामा उल्लेख छ ।
समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा दलहरूले प्राप्त गरेको कुल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्पmबाट मात्र उम्मेदवार निर्वाचित हुनेछन् ।

निर्देशिकाअनुसार दलहरूले प्राप्त गरेको कुल सदर मत गणना गर्दा एक दशमलव पाँच प्रतिशतभन्दा कम प्राप्त गर्ने दलको मत कुल मतमा गणना गरिनेछैन । दलले प्राप्त गर्ने सिट सङ्ख्या र विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने सङ्ख्याबमोजिम उम्मेदवार छनोट गरी पठाउन निर्वाचन अधिकृतले अवधि तोकी सम्बन्धित दललाई जानकारी गराउनुपर्ने व्यवस्था छ । प्रत्येक दलले मत परिणामका आधारमा प्राप्त गरेको सिट सङ्ख्या सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिने जानकारी पनि आयोगले दिएको छ । प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार विजयी हुने व्यवस्था छ ।