प्रत्यक्ष निर्वाचन प्रणाली अन्र्तगत छुट्टाछुट्टै मतपत्र छाप्ने आयोगको तयारी

१२ कार्तिक २०७४, आईतवार १४:२२

कात्तिक १२, काठमाडौं। निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणाली अन्र्तगत आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छाप्ने तयारी गरेको छ।

आयोगले समानुपातिकका लागि एउटै पानामा प्रदेश र प्रतिनिधिसभाको छुट्टाछुट्टै मतपत्र छापिसकेको छ। प्रत्यक्षतर्फ पनि त्यस्तै मत्रपत्र आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्चले प्रदेश र प्रतिनिधिसभाका लागि अलगअलग मतपत्र छाप्न आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि निर्वाचन आयोगले अलगअलग मतपत्र छाप्ने तयारी गरेको छ । आयोग स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशको मर्म र भावना अनुसार निर्वाचन आयोगले छुट्टाछु्ट्टै मतपत्र छाप्ने तयारी गरेको हो।  आइतबार प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादव सहितका पदाधिकारीको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र छाप्ने बिषयमा छलफल भएको थियो।

 

सर्वोच्च अदालतले ३ दिनभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपत्र छपाई बारेमा भएको प्रगतिबारे ३ दिनभित्र जवाफ दिन आयोगलाई निर्देशन दिएको थियो।  राजपा नेता सर्वेन्दनाथ शुक्लाले प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र एउटै कागजमा दुई मतपत्र छाप्ने निर्णय भएको भन्दै अलग रुपमा छाप्न माग राखी सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमाथि गत असोज १९ गते सर्वोच्चले अन्तरिम आदेश दिन नपर्ने फैसला गरेपछि आयोगले एउटै कागजमा दुई मतपत्र छाप्ने निर्णय गरेको थियो ।