प्रतिनिधिसभा सदस्यका लागि हरियो कुर्सीको जोहो गरिदै, माथिल्लो सदनको रातो कुर्सी

२० कार्तिक २०७४, सोमबार ०२:०१

कात्तिक २०, काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक कक्ष हरियो र माथिल्लो सदन राष्ट्रिय सभाको रङ रातो हुने संसद् सचिवालयले जनाएको छ ।

आम निर्वाचन नजिकिँदै गर्दा संसद् सचिवालयले संघीय संसदका दुवै सदनका नियमित र संयुक्त बैठकका लागि आवश्यक भौतिक पूर्वाधार तयारी थालेको हो । संविधानसभा र रूपान्तरित व्यवस्थापिका संसदको बैठकमा प्रयोग गरिएका सेता कुर्सीलाई हरियो बनाउने निर्णय भए पनि सबै कुर्सी फेर्ने कि मर्मत मात्रै गर्ने भन्ने टुंगो नलागेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

‘संविधानसभा र व्यवस्थापिका संसदको बैठकका लागि उपयोग गरिएको मुख्य हलमा प्रतिनिधिसभा र दुवै सदनको संयुक्त बैठक बस्न मिल्ने गरी पुनस्संरचनाको तयारी गरेका छौं,’ संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले भने, ‘अन्तर्रा्ष्ट्रिय अभ्यासअनुरूप तल्लो सदनको बैठक कक्षमा हरियो र माथिल्लो सदनमा रातो रङ प्रयोग गरिनेछ ।’