वाम शक्तिलाई विजयी गराउन युवा संघ र वाइसीएलको संयुक्त परिचालन समिति गठन

१० कार्तिक २०७४, शुक्रबार १४:२१

कात्तिक १०, काठमाडौं । पार्टी एकताको लक्ष्यसहित निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका युवा संगठनले तीन हजार एक सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेका छन् ।

दुवै पार्टी निकटका युवा संगठनको केन्द्रीय इन्चार्ज सहितको शुक्रबारको बैठकले केन्द्र, प्रदेश र स्थानीय तहमा समेत संयुक्त रुपमा प्रचार–प्रसार समिति गठन गर्ने र त्यसलाई प्रभावकारीरुपमा परिचालन गर्ने निर्णय गरेको छ ।   युवा संघ नेपाल र वाइसीएल नेपालको संयुक्त बैठकले दुवै संगठनका पदाधिकारी रहेको सचिवालय र दैनिक कार्य सन्चालनका लागि दुवै अध्यक्ष सहितको ११ सदस्यीय शीर्ष संयोजन समिति गठन गरेको छ ।

 

बैठकले दुवै संगठनको प्रदेश इन्चार्ज वा प्रमुखको नेतृत्वमा जिल्लामा जिल्ला अध्यक्ष वा संयोजकको अध्यक्षतामा निर्वाचन परिचालन समिति बनाउने र जिल्ला मातहत रहेका समिति समेत सोहीअनुसार गरिने निर्णय गरेको छ ।  बैठकमा युवा संघका इन्चार्ज महेन्द्रबहादुर पाण्डेले संविधान कार्यान्वयनको महत्वपूर्ण चरणका रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम शक्तिलाई विजयी गराउन युवाको भूमिका महत्वपूर्ण भएकाले सोहीअनुसार कार्यक्षेत्रमा प्रस्तुत् हुन आग्रह गरे ।

 

उनले नेपालको इतिहासमा आगामी निर्वाचन नयाँ कार्यभार सहितको निर्वाचन भएकाले सम्पूर्ण ध्यानकेन्द्रित गर्न आह्वान गरे ।  वाइसीएलका इन्चार्ज मणि थापाले कुनै पनि आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर इतिहासको आवश्यकता पूरा गर्दै वामपन्थी गठबन्धनलाई विजयी गराउनु आजको प्रमुख कार्यभार रहेको बताए ।   उनले नेपालका युवाको प्रमुख दुई संगठनले जनतालाई संगठित गर्दै निर्वाचनलाई शतप्रतिशत रुपमा सफल बनाउनुपर्नेमा जोड दिए ।

 

युवा संघका अध्यक्ष राजीव पहारीले निर्वाचनलाई केन्द्रमा राखेर दुवै संगठन परिचालित हुने बताए ।  वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटाले ‘युवाकै प्रयासमा मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन भएकाले त्यसलाई संस्थागत गर्ने महत्वपूर्ण अवसर आएको बताए । रासस