पूर्वप्रधानमन्त्री चन्द राप्रपा बैतडीबाट सिफारिश

२६ आश्विन २०७४, बिहीबार ०७:५४

काठमाडौं, २६ असोज । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीबाट सिफारिश हुनुभएको छ ।

सुर्नया गाउँपालिका–२ बाशुलिङ्गका स्थायी बासिन्दा रहेका पूर्वप्रधानमन्त्री चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिश गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले जानकारी दिनुभयो । पूर्वप्रधामन्त्री चन्दसँगै उहाँका छोरा जयन्त चन्दको नाम प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ र समानुपातिक तर्फका लागि सिफारिश गरिएको छ ।

यस्तै, नरेन्द्रबहादुर चन्दको नाम पनि राप्रपा बैतडीले प्रतिनिधि सभाको प्रत्यक्षका लागि सिफारिश गरेको छ । प्रदेश सभाको समानुपातिकतर्फ क्षेत्र नं १ बाट रमा भण्डारी र लक्ष्मी विष्टको नाम सिफारिश भएको छ ।

क्षेत्र नं २ बाट समानुपातिकतर्पm चन्द्रकला साउद, हेमराज लेखक, जितसिंह थापा र वीरेन्द्रबहादुर चन्दको नाम सिफारिश गरिएको छ । दुवै क्षेत्रको प्रत्यक्षतर्फ प्रदेश सभा सदस्यका लागि केही दिनभित्रै उम्मेदवार सिफारिश गरिने राप्रपा बैतडीले जनाएको छ ।

प्रदेश सभाका लागि दुई र प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ३२ हजार ३१७ मतदाता रहेका छन् । जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ ।