पुस १३ देखि पोखरा सडक महोत्सव हुने

६ पुष २०७४, बिहीबार ०६:०५

पुस ६, बुटवल । पोखरा सडक महोत्सवको १९ औँ संस्करण हुने भएको छ । पुस १३ देखि १७ गतेसम्म हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराको टोली रुपन्देही आईएको छ ।  रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलन गर्दै आयोजकले पाँच दिनसम्म सञ्चालन हुने सो महोत्सवमा होटल तथा रेस्टुरेन्टले महोत्सव अवधिभर खाना सडकमै बनाउने र सडकबाटै पर्यटकलाई सेवा दिने अध्यक्ष चौबहादुर गुरुङले बताए ।


‘सडकमै खाऔँ ,सडकमै नाचौँ र सडकमै रमाऔँ’भन्ने नाराका साथ महोत्सव पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको ३ किलोमिटर सडकमा गरिने छ । अग्रेजी नयाँवर्ष २०१८ लाई धुमधामसँग मनाउने उद्देश्यका साथ आयोजना गरिने सो महोत्सवमा विभिन्न खानाका परिकार र विविध सांस्कृतिक कार्यक्रम गरिने छ ।

महोत्सवमा नेपालका सातै प्रदेशका लोपोन्मुख सांस्कृतिक कार्यक्रमसहित श्रीलंका, कोरिया र जापानी टोलीले आ–आफ्नो देशको कला र सांस्कृतिकसमेत प्रदर्शन गर्नेछन् । महोत्सवमा लाइभ कन्सर्ट,राष्ट्रिय लोक दोहोरी, बाल उद्यान, खाना महोत्सव, पञ्चेबाजा, नेवारी, लाखे, गुरुङ, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो, कर्मचारी तथा वेटर दौडलगायतका कार्यक्रम पनि गरिने पूर्व अध्यक्ष केदारनाथ शर्माले बताए ।

पत्रकार सम्मेलनमा बोल्नेहरु देशको सम्वृद्विसंग पर्यटनलाई जोड्नुपर्ने बताएका थिए । पर्यटन क्षेत्रको विकासले देशको आर्थिक सम्वृद्वि छिटो हुन सक्ने भएकाले पर्यटन क्षेत्रको विकासमा सरकार गम्भीर हुनुपर्ने बताए । सरकारले पूर्वाधारको विकास गर्न नसकेकाले सोंचे जस्तो पर्यटन क्षेत्रको विकास हुन नसकेको उनीहरुको भनाई छ । कार्यक्रममा बोल्दै सिद्वार्थ उद्योग वाणिज्य संघका अध्यक्ष राम शर्माले पर्यटन र हाईड्रोको विकास गर्न सकेमा देशको आर्थिक सम्वृद्वि हुने बताए ।

उनले पोखरा र लुम्बिनीलाई जोड्ने गरी फास्टट्याक बनाउनु पर्ने बताए । उनले देशको आर्थिक सम्वृद्वि हुने गरी नीजि क्षेत्र लगानी गर्न तत्पर रहेको बताउंदै त्यसका लागि स्थायी सरकार आवश्यक हुनुपर्नेमा जोड दिए । उद्योग वाणिज्य संघ प्रदेश नम्बर ४ का अध्यक्ष सन्जीव कोईरालाले यस क्षेत्रको पर्यटनको विकासमा मिडियाको भूमिका प्रमुख रहेको बताउंदै पोखरामा हुंदै आएको सडक महोत्सवले समग्र देशलाई प्रभाव पारेको बताए । रेष्टुरेण्ट उण्ड बार एशोसिएयसन नेपाल (रेवान) पोखराका अध्यक्ष चौ बहादुर गुरुङले विदेशी नागरिकलाई आर्कषित गर्नेगरी सडक महोत्सवको आयोजना गरिएको बताए ।

उनले प्रकृति, संस्कृति र संगितले रंगिएको पोखराको सडक महोत्सवमा भारत, जापन, कोरिया, चाईना लगायतका अन्य थुुप्रै मुलुकको संस्कार तथा संस्कृतिलाई देखाउने बताए । नेपाल बाहेक विदेशी २७ देशका विभिन्न खानाका परिकारहरु पोखरामा खुवाउन सकिने बताउंदै दैनिक ३, ४ लाख पर्यटकलाई खाना बस्नको व्यवस्था गर्न सक्नेगरी पर्यटन व्यवसायलाई व्यवस्थित गरिएको जानकारी गराए । रेवान पोखराका पूर्व अध्यक्ष शूर्य भुजेलले यही पुस १३ देखि १७ गतेसम्म सडक महोत्स चल्ने जानकारी गराए । पांच दिनसम्म सडक जाम गरेर महोतसव अबधीभर पोखराका पर्यटन व्यवसायीले सडकमै खानाकै परिकारहरु पस्कने बताए ।

महोत्सवको ६ लाख दर्शकले अबलोकन गर्ने र ५० करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । पत्रकार सम्मेलनमा सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले पोखरा र लुम्बिनीलाइ जोडेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए ।