पहिलो चरणको निर्वाचनको मतदान सुरु, मतदान बेलुका ५ बजे सम्म जारी रहने

१० मंसिर २०७४, आईतवार ०१:५९

मंसिर १०, काठमाडौं । पहिलो चरण अन्तर्गत आज (आइतबार) हिमाली र पहाडी जिल्लामा मतदान सुरु भएको छ । मतदान अहिले सात बजेदेखि सुरु भएको हो ।

 

मतदाताहरुले साँझ पाँच बजे सम्म आफ्नो मतदान गर्न पाउछन् । ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि मतदान हुँदैछ ।

पसंविधान कार्यान्वयनकै महत्वपूर्ण कडिको रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणमा आज र दोस्रो चरण मंसिर २१ गत्ते ४५ जिल्लामा मतदान हुनेछ । आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३७ पदका लागि २ सय ८२ जना उम्मेदवार मैदानमा छन् । जसमा महिला उम्मेदवारको संख्या १६ मात्र रहेको आयोगले जनाएको छ ।यस्तै, प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि चार सय २० जना चुनावी मैदानमा छन् ।

प्रदेशसभामा ४ सय पुरुष र २० जना महिला उम्मेदवार छन् । प्रतिनिधिसभा र प्रदेशसभाका १ सय ११ पदका लागि ७ सय २ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले पहिलो चरणमा आफ्नो मतको सदुपयोग गर्दै छन् ।पहिलो चरणमा २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।

पहिलो चरणमा मतदन हुने प्रदेश र जिल्लाहरु
प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ
प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप
प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा
प्रदेश ५ का रूकुम (पूर्वीभाग) र रोल्पा
प्रदेश ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा
प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी