पहिचानका लागि ‘स्रष्टा–कलाकार परिचय पत्र’ पाउने

५ मंसिर २०७४, मंगलवार ०२:१६

मंसिर ५, काठमाडौं । संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारहरूले पहिचानका लागि ‘स्रष्टा÷कलाकार परिचय पत्र’ पाउने भएका छन् ।

 

संगीत तथा नाट्य विधामा अथक साधनामार्फत समाज र राष्ट्रमा पु¥याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गर्न परिचय पत्र दिइन लागिएको हो । संगीत र नाट्य क्षेत्रमा कार्यरत नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले परिचयपत्रका लागि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको स्वीकृतिमा ‘स्रष्टा÷कलाकार परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७३’ तयार पारिसकेको छ । प्रतिष्ठानका उपकुलपति तथा कलाकार परिचयपत्र सिफारिस समितिका संयोजक शम्भुजित बास्कोटाले कार्यविधिका आधारमा गठित समिति तथा उपसमितिको सिफारिसमा प्रतिष्ठानले परिचय पत्र दिने बताए ।     ‘हामी कलाकारहरू सिंहदरबार छिर्नुप¥यो भने पनि भित्रको पासको प्रतिक्षामा हुन्छौं वा कसैलाई फोन गरेर पास मगाउनुपर्ने झन्झटमा हुन्छौं । कहिँ कतै केही दुर्घटनामा परियो भने पनि परिचय खोज्नुपर्ने अवस्था आउँछ,’ आइतबार प्रतिष्ठानमा पत्रकारमाझ उपकुलपति बास्कोटाले भने, ‘त्यसकारण श्रष्टा तथा कलाकारहरूको योगदानको कदर हुने, उनीहरूको पहिचान गराउने र प्रज्ञा प्रतिष्ठानमा समेत कलाकारहरूको अभिलेख राख्न परिचयपत्रले सहयोग पुग्नेछ ।’ उनले समितिको सिफारिसका आधारमा कलाकारले परिचय पत्र पाउने जानकारी दिए ।

 

गीतकार रत्नशमशेर थापाले कलाकारले परिचय पत्र पाउनु स्रष्टाका लागि खुसीको कुरा भएको बताए । ‘संगीत तथा नाट्य क्षेत्रमा लाग्ने जो कोही कलाकारका लागि यो परिचयपत्रले एउटा नयाँ पहिचान दिनेछ,’ उनले भने, ‘ढिलै भए पनि संगीत तथा नाट्यकर्मीका लागि एउटा राम्रो काम हुन लागेको छ ।’   प्रतिष्ठानले कार्यविधि अनुरुप प्रतिष्ठित, वरिष्ठ र साधारण गरी तीन श्रेणीमा परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । जसअनुसार गीतकार, संगीतकार, लोकभाका संकलक, गायकगायिका, संगीत संयोजक र वाद्यवादकले ‘प्रतिष्ठित श्रेणी’ परिचय पत्र पाउन सिर्जना वा साधनामा ३० वर्षको निरन्तरता, कम्तिमा २ सय गीतको प्रसारण वा प्रकाशन, सरकारी सम्मान वा पुरस्कार पाएको, निजी सघंसंस्थाबाट १० वटा सम्मान पाएको, आफ्नो विधाको पाँच प्रतियोगितामा निर्णायक रहेको, गीत संगीतसँग सम्बन्धित संस्थाको कार्यसमितिमा ४ वर्ष रहेको वा संरक्षक वा सल्लाहकारको बनेको हुनुपर्नेछ ।   यस्तै ‘वरिष्ठ श्रेणी’का लागि आफ्नो विधामा १५ वर्षको निरन्तरता, कम्तिमा १ सय ५० गीत प्रशारण वा प्रकाशन, कम्तिमा ५ वटा सम्मान पाएको, आफ्नो विधाको ३ प्रतियोगितामा निर्णायक भएको तथा गीत संगीतको संस्थाको कार्यसमितिमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्नेछ । त्यस्तै ‘साधारण श्रेणी’का लागि सम्बन्धित विधामा ५ वर्ष क्रियाशील, कम्तिमा २५ वटा गीत वा संगीत प्रशारण वा प्रकाशन, सरकारबाट स्वीकृति लिएको विधागत संस्थाबाट सदस्यता पाएको र आफू आबद्ध संघसंस्थाको सिफारिस भएको हुनुपर्नेछ ।

 

नृत्यकार, नृत्य निर्देशक, नाटककार, नाट्य निर्देशक, रंगकर्मीको हकमा ‘प्रतिष्ठित श्रेणी’का लागि ३० वर्षको योगदान, नाट्य विधामा कम्तिमा १५ वटा नाटक प्रकाशन, निर्देशन, प्रर्दशन वा मञ्चन, नृत्य निर्देशकको हकमा ३ सय तथा नृत्यकारको हकमा ५ सय प्रस्तुति, कम्तिमा १० वटा सम्मान पाएको, सम्बन्धित विधाको प्रतियोगितामा कम्तिमा १० वटामा निर्णायक रहेको, विधागत संस्थाको कार्य समितिमा ४ वर्ष काम गरेको वा संरक्षक वा सल्लाहकारको भूमिका निर्वाह गरेको हुनुपर्नेछ ।   यस्तै, ‘वरिष्ठ श्रेणी’का हकमा सम्बन्धित विधामा १५ वर्षको योगदान, नाट्य विधाको हकमा कम्तिमा १० वटा नाटक प्रकाशन, निर्देशन, प्रर्दशन वा मञ्चन, नृत्य निर्देशकको हकमा २ सय र नृत्यकारको हकमा ३ सय प्रस्तुति, कम्तिमा ५ मान, सम्मान वा पुरस्कार पाएको, सम्बन्धित विधाको पाँच प्रतियोगितामा निर्णायक भएको र सरकारी तथा गैरसरकारी संस्थामा कम्तिमा २ वर्ष योगदान दिएको हुनुपर्नेछ ।  ‘साधारण श्रेणी’लाई सम्बन्धित विधामा ५ वर्षसम्म क्रियाशील, नाट्य विधाको हकमा कम्तिमा ५ वटा नाटक प्रकाशन, निर्देशन, प्रर्दशन वा मञ्चन र नृत्य निर्देशकको हकमा १ सय र नृत्यकारको हकमा २ सय प्रस्तुति, सामाजिक तथा सांस्कृतिक सम्मान र पुरस्कारप्राप्त र सरकारबाट स्वीकृत विधागत संस्थाबाट सदस्यता पाएको र आपूm सम्बद्ध संघ–संस्थाबाट सिफारिस प्राप्त गरेको हुनुपर्नेछ । प्रतिष्ठानले सम्बन्धित विधागत फारामबाट प्राप्त असुली रकमबाट केही रकम कल्याणकारी कोषमा जम्मा गरिने जनाएको छ ।