नेपाल हार्ट नेटले विश्व मुटु दिवस नर्भिकमा मनायो

३१ भाद्र २०७४, शनिबार १३:३५

भदौ ३१, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विविध कार्यक्रमका साथ यस वर्षको विश्व मुटु दिवस मनाउने कार्यको शुभारम्भ गरेको छ ।

यस वर्षको विश्व मुटु दिवस असोज १३ गते शुक्रबारका दिन अर्थात् महानवमीका दिन पर्न गएको हुँदा नर्भिकले उक्त दिवस नेपाल हार्ट नेटसँगको संयोजनमा शनिबार नै मनाएको हो । विश्व मुटु महासंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ मा यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ देखि मनाउन थालिएको यस दिवसले डेढ दशक पार गरिसकेको छ । विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु÷गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहिआएको छ ।

सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर नै अझ हालै आएर विकासोन्मुख राष्ट्रहरूमा मुटुरोगका बिरामीहरू बढ्दै गइरहेका छन् । हाल विश्वमा १ करोड ७३ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।

विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देशहरूमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन तथा अन्य विविध कार्यक्रमहरू गर्ने गरिन्छ । यस वर्षको विश्व मुटु दिवसको नारा “स्वस्थ जीवनशैलीका अनुभव बाँडौं” रहेको छ । नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवन यापन गर्दै आएका बिरामीहरूसहित करिब २०० जना विशिष्ट व्यक्तित्वहरू सहभागी थिए ।