नेपाल आइसीसी वुमन्स टी २० वल्र्डकप क्वालिफायर खेलको एसियामा तेस्रो स्थान

११ मंसिर २०७४, सोमबार ०६:४१

मंसिर ११, काठमाण्डौं ।
अन्ततः नेपाल थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स टी २० वल्र्डकप क्वालिफायर एसियामा तेस्रो स्थान हात पार्न सफल भएको छ ।

ग्लोबल क्वालिफायरमा छनोट हुन नसकेको नेपाल तेस्रो स्थानको लागि सोमबार भएको प्लेअफमा भने नेपालले हङकङलाई ३६ रनले पराजित गर्दै उपाधी उचालेको हो । नेपाल र हङकङबीच लिग चरणको खेल वर्षाका कारण रद्द भएको थियो । बैंककस्थित टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

नेपालका लागि नेरी थापाले सर्वाधिक ३८ रन बनाउन सफल भएकी थिइन् । यस्तै कप्तान रुविना क्षेत्री १४ तथा करुणा भण्डारी १४ रनमा नटआउट भएका थिए । ९५ रनको लक्ष्य पछ्याएको हङकङ एक बल अगावै ५८ रनमा अलआउट हुँदा हङकङका लागि चान साउ हारले १३ तथा का यीन चानले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन असफल रहे ।

हङकङलाई अलआउट गर्न नेपालका लागि करुणा भण्डारीले ३ विकेट लिइन् भने सवनम राई, सीता राना मगर, नेरी थापा र रितु कनौजियाले १ १ विकेट झारे पछि नेपालको जीत संभव भएको हो ।