नेपाली सिमेन्टमा चिनिया कम्पनीले ३६ अर्ब ७५ करोड लगानी गर्ने

१९ भाद्र २०७४, सोमबार ००:४३

काठमाडौँ । नेपालको सिमेन्ट उत्पादनमा चीनको एक निजी कम्पनीले ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने सरकारसँग सम्झौता गरेको छ । सरकार र चिनियाँ कम्पनी होङशिवमः सिमेन्टबीच नेपालमा सिमेन्ट कारखाना स्थापना गर्ने सम्झौता भएको हो ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र होङशिवम् सिमेन्ट प्रा.लि. का महाप्रबन्धक लेई वेइपेङले नेपालमा सिमेन्ट कारखाना स्थापना गर्ने परियोजना लगानी सम्झदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

 

चीनको होङसी नामक कम्पनीले नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा नवलपरासीको साविकको मेनिमणिपुर गाविसमा सिमेन्ट उद्योग खोल्न लागेको हो । हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रवहाद्ुर कार्की तथा नेपालका लागि चिनियाँ राजदुत यू होङको समेत उपस्थिति थियो ।  सम्झौताअनुसार कम्पनीले नवलपरासी जिल्लामा सिमेन्ट कारखाना स्थापना गर्नुपर्नेछ । कम्पनीले सन् २०१८ भित्र उत्पादन सुरु गर्नेछ ।