निर्वाचनले बढायो मासु र अण्डाको बिक्री

८ मंसिर २०७४, शुक्रबार ०४:१३

मङ्सिर ८ भक्तपुर । आसन्न निर्वाचनका कारण कुखुराको मासु र अण्डाको माग बढेसँगै मासु र अण्डाको मूल्य वृद्धि भएको छ ।

प्रचारका क्रममा दलहरूले आफ्ना कार्यकर्तादेखि सामान्य मतदातासम्मलाई खाना, खाजा खुवाउँदा कुखुराको मासु र अण्डाको प्रयोग बढाएपछि यसको उपभोग समेत बढेको छ । जसले बजारमा कुखुराको मासु र अण्डाको माग बढेर मूल्य वृद्धि गराएको हो ।   “औषत २६० रुपियाँ प्रतिकेजी कारोबार हुने कुखुराको मासु अहिले किसान तहमै प्रतिकेजी ३२० रुपियाँभन्दा बढी मूल्यमा कारोबार भइरहेको छ”, नेपाल पोल्ट्रि व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिव बरालले भने, “अण्डा पनि पहिला पहिला प्रतिक्रेट २९० रुपियाँमा पनि बिक्री हुन गारो हुन्थ्यो अहिले ३१० रुपियाँ तिर्छु भन्दा पनि किसानबाट व्यवसायीले अण्डा पाउन सकिरहेका छैनन् । ” कार्यकारी अधिकृत बराल चुनावकै कारण अण्डा र मासुको खपत बढेकाले यसको मूल्यसमेत बढेको बताउछन् ।

व्यवसायीहरूका अनुसार सामान्य अवस्थाभन्दा अहिले कुखुराको मासु र अण्डामा २० प्रतिशत खपत बढेको छ । मञ्चका अध्यक्ष शंकर कँडेल सामान्य अवस्थामा नेपालमा दैनिक सात लाख केजी कुखुराको मासु र २४ लाख अण्डा खपत हुने बताउँछन् । यो सङ्ख्या चितवनको हकमा ५० हजार केजी मासु र १० लाख गोटा अण्डा खपत हुने गरेको बताइन्छ ।   “चुनावका कारण खपत बढ्दा कुखुराको मासु र अण्डामा मूल्य बढ्न गयो”, अध्यक्ष कँडेलले भने, “यही अनुपातमा खपत बढेर जाने हो भने नेपालमा उत्पादन भएको मासु र अण्डाले बजार माग थेग्न गारो पर्न सक्छ । ”

कुखुराको मासु र अण्डा उत्पादनमा नेपाललाई आत्मनिर्भर मानिन्छ तर कहिलेकाहीँ निर्वाचन तथा चाडबाडका बेला यसको माग ह्वात्तै बढेर जाने गर्छ । नेपालमा खपत हुने मासुमध्ये ७५ प्रतिशत बजार काठमाडौँको हो ।   “कुखुरामा नेपाल आत्मनिर्भर छ”, उनले थपे, “अहिले दैनिक खपत हुने कुखुराको मासु नेपालभित्रै उत्पादन हुनसक्ने अवस्था छ । ” नेपालमा अहिले एक हजार ४७३ फर्ममा २५ लाख लेयर्स कुखुरा छन् । जसमध्ये चितवनमा ५०० फर्ममा १६ लाख कुखुरा पर्छन् । जसले अण्डा उत्पादन गरिरहेको छ ।    यस्तै २० हजार ४८३ ब्रोइलर कुखुराको फर्म नेपालमा रहेको छ । जसमा पाँच करोड २६ लाख ६६ हजार २९ ब्रोइलर कुखुरा पालिएका छन् । यसरी पालिएका मध्ये दुई हजार फर्मका दुई लाख ब्रोइलर चितवनका हुन् । ब्रोइलर मासुका लागि पालिने कुखुरा हुन् । देशभरिमा अहिले ६४ जिल्लामा कुखुरा पालन रहेको तथ्याङ्क कुखुरा व्यवसायी मञ्चले प्रस्तुत गरेको छ । कुखुराको मासु र अण्डामा व्यवसायमा हुने गरेको उतार चढावको प्रत्यक्ष प्रभाव चितवनमा पहिला पर्छ ।