मतदातालाई ढुक्का भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान

१ आश्विन २०७४, आईतवार १३:१८

असोज १, काठमाडौं । निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई अपिल गरेको छ । प्रदेश २ का ८ जिल्लामा सोमबार तेस्रो चरणमा स्थानीय तह चुनाव हुँदैछ ।

 

चुनावको पूर्वसन्ध्यामा निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनलाई पर्वको रुपमा मनाउन अनुरोध गरेका हुन् । ‘पाँच वर्षसम्म नेतृत्व गर्ने जनप्रतिनिधिको निर्वाचन गराउन हाम्रा कर्मचारीहरु तपाईहरुको घर टोलमा आइसक्नु भएको छ । बाढी, डुबानबाट उत्पन्न पीडालाई बिर्सेर एक दिन राष्ट्रका लागि दिनुहोस्,’ प्रमुख आयुक्त यादवले भने, ‘यो असोज २ गते जनप्रतिनिधि छनोट गर्ने पर्वका रुपमा मनाउन आयोग समस्त मतदाता आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूसँग हार्दिक अनुरोध गर्दछ ।’

 

कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले प्रदान गर्न आयोगले सबै मतदातालाई आह्वान गरेको छ । प्रदेश नम्बर २ मा सोमबार हुने स्थानीय तह चुनावको सबै तयारी पूरा भइसकेको आयोगले जनाएको छ । सुरक्षाको पनि भरपर्दो प्रवन्ध मिलाइएको छ । सीमा क्षेत्रबाट हुन सक्ने अवान्छित घुस पैठलाई रोक्न आयोगले सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।  आठ जिल्लाका १३६ स्थानीय तहमा ६ गुणाभन्दा बढी उम्मेदवारहरु चुनावी मैदानमा छन् । कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा रहेको आयोगको तथ्यांक छ । तीमध्ये महिला १४ हजार ३३७ ९३९ प्रतिशत० र पुरुष २२ हजार ८६१ ९६१ प्रतिशत० को उम्मेदवारी कायम छ । यस निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ ।

 

नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी परेको छ । नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको उम्मेदवारी सबैभन्दा बढी देखिएको छ । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार रहेको आयोगले जनाएको छ । वडाध्यक्षमा पुरुष ८ हजार ५२ जना र महिला २२३ जना उम्मेदवारहरू निर्वाचनको मैदानमा छन् । निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको छ ।

 

मतदानको समयमा अपांगता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन दिएको छ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत संकेत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसंकेत गर्न सक्नेछन् । यसरी मत संकेत गर्दा मतदाताको इच्छाविपरीत नहुने आयोगको विश्वास छ । कोही कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने आयोगको विश्वास छ । सीमा क्षेत्रबाट हुन सक्ने अवान्छित घुसपैठलाई रोक्न आयोगले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको छ ।

२ हजार बढी पर्यवेक्षक

आयोगले ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको छ । नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नम्बर दुईका जनकपुर, बर्दिबास, बीरगन्ज र सिमरामा मतदानको दिन पर्यवेक्षण भ्रमण गर्न सक्ने व्यवस्था मिलाइएको प्रमुख आयुक्त यादवले जानकारी दिए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, आमसञ्चार माध्यमलगायत सबै क्षेत्रबाट रचनात्मक सहयोग पाउने अपेक्षा आयोगले गरेको छ ।