नारायणगढ–मुग्लिक सडकखण्ड आज सात घण्टा सवारी बन्द हुने

२५ कार्तिक २०७४, शनिबार ०४:५०

कात्तिक २५, काठमाडौं। चितवनको नारायणगढ–मुग्लिक सडकखण्डअन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज सात घण्टा सवारी बन्द हुने भएको छ ।

नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानमा खस्न लागेको चट्टानले जोखिम बढेको भन्दै आज १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने छ । आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले वैकल्पिक सडक प्रयोग गर्न सवारी चालक र यात्रुलाई अनुरोध गरेका छन्। भोलि आइतबारदेखि भने कालोपत्र गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा बीचबीचमा सडक रोक्दै काम अघि बढाइने खनालको भनाइ छ ।  आइतबारदेखि एकहप्ता परीक्षणस्वरुप बिहान ७ देखि ८ः३० बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए।

 

सो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७०० मिटरमा भित्तो काट्ने काम बाँकी छ । यहाँको झण्डै १० किमी क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ । दुई वर्षदेखि यहाँ सडक चौडा पार्ने काम शुरु गरिएको हो ।  निर्धारित समयमा सडकको काम नसकिएपछि आगामी फागुनसम्म म्याद थपेर काम हुँदै आएको छ । सो सडकको अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । आज दिनभर बन्द्य हुने भएपछि चुनाव प्रचारका लागि आउने जाने नता कार्यकर्तालाई बढी असर गरेको छ।