नयाँ शक्ति आसन्न चुनावपछि कानुनी रुपमा एमाले, कारण यस्तो

२० आश्विन २०७४, शुक्रबार १२:५७

२० असोज, काठमाडौँ । आसन्न चुनावपछि नयाँ शक्ति पार्टी कानुनी रूपमा नेकपा एमाले हुने भएको छ । नेकपा एमालेको चिन्हमा चुनाव लड्न लागेको नयाँ शक्ति पार्टीसँगै राजपा छोडेर स्वतन्त्र समूह घोषणा गरेका हृदयेस त्रिपाठीको समुह कानुनी रुपमा नेकपा एमाले हुने भएका हुन् ।

जुन निर्वाचन चिन्हबाट उम्मेदवार विजयी हुन्छ सोही दलको सदस्यका रुपमा आयोगमा दर्ता हुने व्यवस्था रहेको छ । चुनाव चिन्ह सहित उम्मेवारी दर्ता गरेर बिजयी भएपछि आधिकारिक रुपमा उनीहरू एमाले बन्ने भएका हुन् ।

अन्य दलको चुनाव चिन्ह सापटी लिएका उम्मेदवार विजयी भएमा सोही पार्टीको सदस्यको रुपमा आयोगको अभिलेखमा रहने ब्यवस्था रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ‘जुन चिन्ह लिएर उम्मेदवार विजयी हुन्छ’, प्रवक्ता ढकालले भने, ‘कानुनतः ऊ सोही चिन्ह भएको पार्टीको सदस्यको रुपमा आयोगको अभिलेखमा रहन्छ ।’