देश समृद्ध बनाउन मुख्य स्रोत राजश्व: अर्थमन्त्री

२५ आश्विन २०७४, बुधबार ०८:११

काठमाडौं, २५ असोज । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश समृद्ध बनाउने मुख्य स्रोत राजश्व भएकाले यसका लागि मन्त्रालयले विशेष कार्यनीति ल्याएको बताउनुभएको छ ।

अर्थमन्त्री कार्कीले आज सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान विभागको पूर्वाञ्चल इकाइ कार्यालयको अवलोकन एवं निरीक्षण गर्दै विशेष कार्यनीतिलाई कार्यान्वयनका लागि इमान्दार भएर लाग्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

“देश समृद्ध बनाउन नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउनु जरुरी छ,” उहाँले भन्नुभयो । राजश्वको क्षेत्रलाई वृहत बनाइ सबैलाई राष्ट्र निर्माणको दायित्वमा समेट्ने नीति ल्याइएकाले त्यसको कार्यान्वयनमा इमान्दारिताकासाथ जुट्न मन्त्री कार्कीले निर्देशन दिनुभयो ।

करको दायरामा सबै करदातालालाई समेटे मुलुक आफ्नो आन्तरिक करका स्रोतबाट समृद्ध बन्नसक्ने उहाँको भनाइ थियो ।