दिल्लीमा जारी विश्व पावरलिफ्टिङ प्रतियोगितामा नेपालद्वारा दुई पदक

९ कार्तिक २०७४, बिहीबार ०६:४७

कात्तिक ९, काठमाडौं । भारतको दिल्लीमा जारी विश्व पावरलिफ्टिङ प्रतियोगितामा नेपालले दुई पदक जितेको छ । प्रतियोगितामा नेपालका ज्ञानेन्द्र नकर्मी र रोजिन नकर्मीले पदक जितेका हुन् ।

ज्ञानेन्द्रले मास्टरतर्फ रजत पदक हात पार्दा पहिलो पटक प्रतियोगितामा सहभागी भएका रोजिनले सबजुनियर (१९ वर्ष मुनिमा) कास्य पदक प्राप्त गरेका हुन् । यसअघि १९१४ मा दिल्लीमा नै भएको प्रतियोगितामा पनि ज्ञानेन्द्र श्रेष्ठले स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए ।

पावरलिफ्टिङमा नेपाली खेलाडीको उच्च प्रदर्शन रहँदै आएको छ । २०१४ मा दिल्लीमा नै भएको सोही प्रतियोगितामा बुद्धिजंग कार्कीले रजत पदक प्राप्त गरेका थिए । यस्तै २०१५मा केरलामा भएको प्रतियोगितामा ज्ञाननारायण महर्जन र २००५ मा दिल्लीमा भएको प्रतियोगितामा दिनेश श्रेष्ठले कास्य पदक हात पार्न सफल भएका थिए ।

चार सदस्यीय टोली प्रतियोगितामा प्रतिस्पर्धा गर्न कात्तिक ५ गते दिल्लीतर्फ प्रस्थान गरेका थिए । अब नेपालका ९० केजी तौलमा प्रतिस्पर्धा गरेका बुद्धिजंग कार्की र ७५ केजीका प्रकाश केसीको नतिजा आउन बाँकी छ ।