तेह्रथुममा गोरु काटेको आरोपमा दुई जना पक्राउ

१४ आश्विन २०७४, शनिबार १४:१६

१४ असोज, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका ५ दांगपाबाट दशैंमा गोरु काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 

दांगपाको ढुंगेमा गोरु काटेर खाएको आरोपमा २८ वर्षीय पेमछिरी शेर्पा र छथर गाउँपालिका ६ सुदापका ४२ वर्षीय फुर्तुङ शेर्पा पक्राउ परेका ईलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक गणेशराज कोईरालाले बताए ।

 

गोरु काट्ने मुख्य व्यक्ति २५ वर्षीय पासाङ शेर्पा भने फरार रहेको प्रहरीले जनाएको छ । पेमछिरी र फुर्तुङ सहयोगी रहेको र पासाङ भने गोरु काट्ने मुख्य व्यक्ति रहेको प्रहरीले जनाएको छ । फरार पासङको खोजी भैरहेको प्रहरीले जनाएको छ । उनीहरुले फुलपातीको दिन ढुंगेको जंगलमा गोरु काटेर घरमा लगेर खाएको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका दुवै जनालाई मुलुकी ऐनको गौवध सम्वन्धी कसुरमा मुद्दा चलाईने प्रहरी निरीक्षक कोईरालाले वताए । मुलुकी ऐनको चौपाया सम्वन्धी महल ७ को ११ नम्बरमा गोरु काट्नेलाई १२ वर्ष र सहयोग गर्नेलाई ६ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।

नेपाल धर्म निरपेक्ष राज्य भएपनि गोरु काट्नेलाई पक्राउ गरिएको छ ।