तेक्वान्दोमा नेपाललाई पाँच स्वर्ण सहित ११ पदक

१३ कार्तिक २०७४, सोमबार १०:०१

कात्तिक १३, काठमाडौं । हङकङमा सम्पन्न क्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ११ पदक जितेको छ । नेपालले पाँच स्वर्ण, चार रजत र दुई कांस्य पदक हात पारेको हो ।

प्रतियोगितामा नेपालबाट चार पुरुष र दुई महिला खेलाडीले क्योरोगी र पुम्सेको विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । नेपालका एक खेलाडीमात्र पदक विहीन रहे ।

पुरुष एकल पुम्सेमा टिम प्रशिक्षकको भूमिकासमेत निर्वाह गरेका नेपालका अशोक खड्काले स्वर्ण जिते । उक्त स्पर्धामा चीनका यिप चिङ क्वान दोस्रो र नेपालका नन्द विष्ट तेस्रो भए । नन्दले ६८ केजीमुनि भने उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जिते । पहिलो चरणमा वाई पाएर सीधै सेमिफाइनल प्रवेश गरेका नन्दले फाइनलमा मकाउका वोङलाई अत्तिरिक्त समयमा पाखा लगाउँदै स्वर्ण जितेका हुन् ।

 

चाइना हङकङ नेसनल तेक्वान्दो एलाइन्सद्वारा आयोजित प्रतियोगिताको महिला एकल पुम्सेमा मकाउकी हुई विङ तिङलाई पछि पार्दै नेपालकी चन्दु शाहीले स्वर्ण पोल्टामा पारिन् । पुरुष ५४ केजीमुनिको स्पर्धामा नेपालका पुष्पप्रसाद गौतमले स्वर्ण चुमे । उनले फाइनलमा चीनका चुक हिनबाट वाक ओभर पाए ।

प्रतियोगितामा नेपालबाट सहभागीमध्ये सबैभन्दा कान्छा खेलाडी १३ वर्षीय विवेक श्रेष्ठ पुरुष ३३ केजीमुनि पहिलो भए । उनले फाइनलमा मकाउका लाम छुनमाथि सानदार जित निकाले ।

डेढ वर्षको करियरमा विवेक सहभागी भएको यो चौथो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसअघि विवेकले जापान र थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण तथा भुटानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा रजत जितेका थिए । महिलाको ३३ केजीमुनि नेपालकी अस्मिता नगरकोटीले रजतमा चित्त बुझाइन् । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी अस्मिता फाइनलमा चीनकी फोक हेई लानसँग बाजी हारिन् ।

टिम पुम्सेमा अशोक, चन्दु र नन्द सम्मिलित टोलीले रजत जिते । यसैगरी एकल पुम्सेको पुरुषमा विवेक र पुष्प तथा महिलामा चन्दुले नेपालका लागि रजत जिते । पेयर पुम्सेमा अशोक र चन्दुको जोडी तथा पुरुष एकल पुम्सेमा नन्दले कांस्य हात पारे । पुरुष ६३ केजीमुनि नेपालका उत्सव थापा पदकविहीन बनेको राष्ट्रिय खेलकुद परिषद् प्रचारप्रसार शाखाले जनाएको छ ।