तीन वर्षयता क्यान्सरका बिरामी बढ्दो

१३ मंसिर २०७४, बुधबार ०५:३८

मंसिर १३, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले पछिल्लो तीन वर्षयता क्यान्सरका बिरामी तिव्र गतिमा बढिरहेको जनाएको छ ।

अस्पतालको तथ्यांक अनुसार सन् ०१६ मा मात्रै अस्पतालमा ३२ सय ६० जना क्यान्सरका बिरामी आएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा करिब एक हजारले बढी हो । सन् ०१५ मा अस्पतालमा जम्मा २२ सय ८० बिरामी आएका थिए । यस्तै सन् ०१४ मा जम्मा २ हजार १९ जना बिरामी आएको अस्पतालले नाएको छ । अस्पतालबाट ओपिडि सेवा लिनेको संख्या बढेको छ । सन् ०१६ क्यान्सर हस्पिटलबाट ५८ हजार आठ सय ७३ बिरामीले सेवा लिएका थिए भने सन् ०१५ मा ४१ हजार नौ सय ४३ बिरामी मात्रै ओपीडीमा आएका थिए ।

अस्पतालमा भर्ना भएका बिरामीको तथ्यांक अनुसार पुरुषको तुलनामा क्यान्सरका बिरामी महिला बढी छन् । सन् ०१६ मा अस्पताल आएका क्यान्सरका बिरामी मध्ये १८ सय २८ महिला थिए भने १४ सय ३२ पुरुष थिए । अघिल्लो वर्षको तुलनामा यो संख्या पनि बढी हो । सन् ०१५ मा १३ सय २५ महिला र १ हजार ५५ पुरुष अस्पताल आएका थिए । सन् ०१४ को तथ्यांक अनुसार पनि पुरुष भन्दा महिलामा नै बढि रहेको छ । यो वर्ष ९ सय ५५ पुरुष र १ हजार ६४ महिला बिरामी अस्पताल पुगेका थिए ।