तराईका जिल्लाहरुमा चिसो बढेसंगै जनजीवन प्रभावित,वीरगञ्जको तापक्रम साढे ७ डिग्री सेल्सियस

१४ पुष २०७४, शुक्रबार ०८:२३

पुष १४ ,पर्सा ।   देशैभरको तापक्रम घट्दै जादा जनजीवन कष्टकर हुँदै गएको छ ।

चार दिनदेखि तराईका जिल्लामा अत्याधिक चिसो बढेसंगै दैनिकी नै प्रभावित हुँदै गएको छ । चिसोका कारण पर्सा, बारा, रौतहटसँगै आसपासको जिल्लामा समेत जनजीवन प्रभावित हुदै गएको रौतहटका पत्रकार जयप्रकाश यादवले बताएका छन् । चिसोको कारण मानिसहरु घरबाहिर बिशेष काम बाहेक निक्लन छाडेका छन् । पशुचौपाया देखि ससाना केटाकेटी, विरामी र वृद्धवृद्ध ज्यादा मारमा परेका छन् । आज बिहान वीरगंजको तापक्रम यो सिजनकै सबैभन्दा कम मापन भएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरस्थित जल तथा मौसम विज्ञान केन्द्रले जनाएको छ । बिहीबार बिहान ९ बजेदेखि शुक्रवार बिहान ९ बजेसम्मको अधिकतम तापक्रम २० डिग्री सेल्सियस र न्यून्तम तापक्रम साढे ७ डिग्री सेल्सियस मापन गरिएको छ ।  यसैबीच वीरगंज महानगरपालिकाले केही दिनयता बढेको चिसोको कारण जनजीवन प्रभािवत भएपछि आजदेखि वीरगंजको विभिन्न चोकमा सर्वसधारणहरुको लागि आगो ताप्ने व्यवस्था गरेको वीरगञ्जवाट पत्रकार सत्यराज घिमिरेले वताएका छन् । यसैगरि यता बाराको जनजीवन पनि प्रभावित भएको छ । चिसोका कारण विहानबेलुका सडकपेटीमा व्यापार गर्दै आएका ज्यादा मारमा परेका छन् भने कृषकहरु समेत त्यसवाट अछुतो नरहेको पत्रकार श्याम गुप्ताले जनाएका छन् ।