तरकारीको मूल्य अस्वाभाविक वृद्धि हुनुमा व्यवसायीको मिलेमतो

२७ कार्तिक २०७४, सोमबार ०२:५५

कात्तिक २७, काठमाडौँ । तरकारीको मूल्य अस्वभाविक वृद्धि भएको छ । यसरी मूल्य वृद्धि हुनुमा व्यवसायीको मिलेमतो रहेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताएका छन् ।

गत शुक्रबार विभागले कालिमाटीको तरकारी बजार पुगेर अनुगमन गर्दा यस्तो पाइएको खबर आजको नयाँ पत्रिकामा छ । विभागको अनुगमन टोलीले राती आइरहेका ट्रकमा तरकारीको बिल मागेर हेर्दा बिलमा उल्लेख भएको मूल्य अपत्यारिलो थियो । किनभने सबै तरकारी प्रतिकिलो ११ रुपैयाँ ५० पैसाका दरले खरिद गरी कालिमाटीस्थित जयसवाल एसके स्टोरले ल्याएको थियो ।

साढे ११ रुपैयाँका दरले खरिद गरेको तरकारीको थोक मूल्य त्यस दिन काउली ७५, भिन्डी १००, परवल ७० र भ्यान्टा ६५ रुपैयाँ प्रतिकिलो थियो । उपभोक्ताले काउली १००, भिन्डी ११०, परवल ९० र भ्यान्टा ८० रुपैयाँ प्रतिकिलोमा खरिद गरेका थिए ।

‘तरकारीको मूल्यमा व्यापारीले मनोमानी गरेका छन्,’ महानिर्देशक दाहालले भने, ‘यसलाई नियन्त्रण गर्नु जरुरी छ ।’ आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तरकारी मूल्य नियन्त्रणका विषयमा भएको छलफलमा महानिर्देशक दाहालले तरकारी अभाव नदेखिएको बताए । ‘यहाँ महँगो पैसा तिरेर खरिद गर्छु भन्दा जति पनि तरकारी पाइन्छ,’ उनले भने, ‘थोरै पैसामा मात्र किन्न नपाइएको हो ।’