डब्लूएचओलाई दिँदै आएको कोष रोक्ने ट्रम्पको चेतावनी

२६ चैत्र २०७६, बुधबार ११:१४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको कोष रोक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि डब्लुएचओले उचित भूमिका खेल्न नसकेको भन्दै ट्रम्पले उक्त कोष रोक्ने चेतावनी दिएका हुन् ।

मंगलबार ह्वाइट हाउसमा नियमित प्रेस ब्रिफिङको क्रममा उनले डब्लूूएचओलाई कोरोना भाइरसको जोखिम पहिला नै थाहा भएको तर उसले बेलैमा सूचित नगरेको आरोप लगाए । ट्रम्पले यस विषयमा अहिले अनुसन्धान भइरहेको तर आफूहरु डब्लूएचओलाई दिँदै आएको कोष रोक्ने पक्षमा रहेको बताए ।

सन् २०१९ को अन्तिममा यो भाइरस फेला पर्दा डब्लूूएचओले भाइरसलाई ‘पत्ता नलागेको कारणले हुने निमोनिया’ भएको बताएको थियो । जनवरी ३० मा उसले कोरोना भाइरसको कारण विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको थियो भने मार्च ११ मा यसलाई महामारीको संज्ञा दिएको थियो । अमेरिका डब्लूएचओमा सबैभन्दा धेरै योगदान गर्ने मुलुक हो ।

ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा पनि डब्लुएचओले चीनको पक्ष लिएको आरोप लगाएका थिए ।

जनवरी ३१ मा डब्लूएचओका प्रतिनिधिले विश्वभरका मुलुकहरुलाई भाइरसको जोखिम हुँदाहुँदै पनि आफ्नो सीमा खुला राख्न सुझाव दिएका थिए । तर, सोही दिन अमेरिकाले चीनबाट आउने पर्यटकमाथि रोक लगाउने निर्णय गरेको थियो ।

द न्युयोर्क टाइम्सले भने अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएपछि पनि चीनबाट चार लाख ३० हजार मानिस अमेरिका आएको तथ्यांक सार्वजनिक गरेको थियो । पछिल्लो समय अमेरिका र डब्लूूएचओको सम्बन्ध चिसिएको छ ।