झापा क्षेत्र नं १ मा विश्वप्रकाश शर्मा र राम कार्कीबीच कडा प्रतिस्पर्धा

२४ कार्तिक २०७४, शुक्रबार ०८:०९

कात्तिक २४, कार्तिक । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं १ मा बाम गठबन्धन र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।  बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेन्द्र कुमार कार्की (राम कार्की) र कांग्रेसबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् । अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिँदै जाँदा दुवै उम्मेदवारले घर दैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

चार निर्वाचन क्षेत्र रहेको झापामा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रले एक र नेकपा एमालेले तीनवटा क्षेत्रमा उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्।  मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकको वडा नं ४,५,६ र ७ तथा भद्रपुर नगरपालिकाको वडा नं ९ र १० रहेको निर्वाचन क्षेत्र नं १ मा एक लाख पाँच हजार ४ सय ७५ मतदाता रहेका छन् तीमध्ये ५२ हजार ८ सय ४६ महिला छन् ।  यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सात जना र प्रदेशसभा सदस्यका लागि ‘क’ र ‘ख’ मा आठरआठ गरी १६ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सभामा नेपाली कांग्रेसबाट ‘क’ मा केशव पाण्डे र ‘ख’ मा अशोक पोखरेलले उम्मेदवारी दिएका छन् भने वाम गठबन्धनबाट ‘क’ मा नेकपा एमालेका श्रीप्रसाद मैनाली र ‘ख’ मा नेकपा एमालेकै गोपालचन्द्र बुढाथोकीले उम्मेदवारी दिएका छन् ।

 

अहिले उनीहरू जनतासँग मत मागिरहेका छन् । खुला सीमाका कारण भारतबाट प्रवेश गर्ने जंगली हात्तीबाट हुने जनधनको क्षति प्रमुख समस्याका रुपमा रहेको यो क्षेत्रमा आम मतदाताले स्वास्थ्य, सडकबाटो, बिजुली, सिँचाइ, शिक्षा, रोजगारजस्ता समस्या समाधान गर्न उम्मेदवारहरुलाई आग्रह गर्ने गरेका छन् ।  शान्ति सुरक्षा कायम भई मानिसले अमनचयन तरिकाले आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने जस्ता माग पनि उनीहरूले अगाडि सारेका छन् । यस क्षेत्रमा अहिले वाम गठबन्धन बलियो देखिए पनि वाम गठबन्धनका उम्मेदवार गैरझापाली र नेपाली कांग्रेसका उम्मेदवार स्थानीय भएकोले निर्वाचन परिणाम फरक ढंगले आउनसक्ने काँकरभिट्टाका विजय सुवेदीले बताए । रासस