जापान भलिबल सम्पर्क समितिको अध्यक्षमा नविन गुरुङ

२३ कार्तिक २०७४, बिहीबार १३:१७

कात्तिक २३, काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) जापान सम्पर्क समितिको अध्यक्षमा नविन गुरुङ नियुक्त भएका छन् । अध्यक्षमा नियुक्त भएका गुरुङलाई नेपाल भलिबल संघले बिहिवार प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

नेपाल भलिबल संघको बिधानको दफा २६ अनुसार पूर्व खेलाडी नविनको अध्यक्षतामा १३ सदस्यीय तदर्थ नेपाल भलिबल जापान सम्पर्क समिति गठन गरिएको हो । संघका केन्द्रीय अध्यक्ष मनोरन्जन रमण शर्माले जापान सम्पर्क समितिलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् । सम्पर्क समितिको बरिष्ठ उपाध्यक्ष लोकेश खत्री,उपाध्यक्षमा मदन साउद, महासचिव मुक्ती सुवेदी,सचिवमा बविन थापा र कोषाध्यक्षमा दिपेश खत्री रहेका छन् ।

 

त्यस्तै सदस्यहरुमा भिक्टोर ठाडा मगर, हितु थापा, महेन्द्र साहानी, राम मल्ल, राम लामिछाने, कमल थापा र प्रकाश चन्द जोशी रहेका छन् । बिधान अनुसार अध्यक्ष गुरुङले राजु बस्नेत, जीवन खड्का र कमला काप्री र कविता लामिछाने लाई सदस्यमा मनोनयन गरेका छन् ।

प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा अध्यक्ष गुरुङले नेपाल भलिबल संघलाई नगद ४० हजार सहयोग हस्तान्तरण गरेका छन् । यसअघि गुरुङले नेपालमा सम्पन्न भएको आमन्त्रीत नेपाल बंगलादेश मैत्रिपूर्ण खेलका लागि नगद ५० हजार सहयोग गरेका थिए ।