राजमार्ग सरसफाई

२९ मंसिर २०७४, शुक्रबार ११:१४

श्याम गुप्ता
मंसिर २९, बारा । 
जीतपुरसिमरा उपमहानगरपालिका र जिल्ला वन कार्यालय बाराको संयुक्त आयोजनामा शुक्रवार चुरे देखि राजमार्ग सरसफाई अभियान सुरु भएको छ ।

उपमहानगर क्षेत्र भित्रको मुख्य राजमार्ग सफाई गर्ने अभियानका क्रममा त्रिभुवन राजपथको चुरियामाई मन्दिरबाट सफाई सुरु भएको हो । चुरियामाई मन्दिर क्षेत्र भित्रको सफाई गरी सुरु भएको कार्यक्रमका सहभागीले राजमार्गको दायाँ बायाँ फालिएका फोहोर सफा गरेका थिए ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धर , जीतपुरसिमरा उपमहानगरपालिका नगर प्रमुख डा.कृष्ण पौडेल , उपप्रमुख सरस्वती चौधरी , प्रहरी उपरिक्षक राजकुमार बैदवार , सशस्त्र प्रहरी उपरिक्षक बिनुप्रसाद पाठक , जिल्ला वन कार्यालय बाराका प्रमुख भैरव प्रसाद घिमिरे , जीतपुरसिमरा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेती , उपमहानगरको फोहोर व्यवस्थापन समिति संयोजक ईश्वर खत्री , नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना , पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरु लगायत सयौं सहभागी थिए ।  राजमार्गलाई सफा राख्ने अभियान अन्तर्गत जिल्ला वन कार्यलयसँग सहकार्यमा सरसफाई गर्ने काम थालेको उपमहानगरका नगर प्रमुख डा.कृष्ण पौडेलले बताए । उपमहानगरको क्षेत्र भित्र पर्ने चुरियामाई देखी पूर्वपश्चिम राजमार्गको १६ किलो सम्मको सडकको दायाँ बायाँ सफाई गरिने र यसलाई निरन्तरता दिदै जाने डा.पौडेलले बताएका छन् ।  उपमहानगको प्रमुख समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनका लागि बिकल्प खोजिसकेको र काम सुरु भईसकेकाले बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्ने काम भईरहेको डा.पौडेलले बताएका छन् । बजार क्षेत्र र बस्तीको फोहोर व्यवस्थापनसँगै राजमार्गलाई सफा राख्नका राजमार्ग सफाईको अभियान थालिएको डा.पौडेलले बताए ।

सरसफाई कार्यक्रममा सहभागी बाराका प्रमुख जिल्ला अधिकारी बिजय मानन्धरले राजमार्गलाई सफा राख्नका निम्ति उपमहानगर र वन कार्यलयले गरेको अभियानको प्रशंसा गरे । बस्तीसँगै उपमहानगर भित्रको राजमार्ग सफाईका लागि नगरबासीले पनि आफ्नों तर्फबाट भूमिका खेल्नु पर्ने उनको भनाई थियो ।  त्यस्तै प्रहरी उपरिक्षक राजकुमार बैदवारले राजमार्ग दुर्घन्धित हुँन नदिन र सडक वरपरको क्षेत्र सफा राख्नका लागि सबै क्षेत्रमा यस्तो किमिसको कार्यक्रम जरुरी रहेको बताए ।

उता जिल्ला वन कार्यालय बाराका प्रमुख भैरव घिमिरेले सडक क्षेत्रमा रहेको फोहोरका व्यवस्थापनका निम्ति उपमहानगरसँग समन्वय गरेर अभियान थालिएको बताए । यात्रुहरुले प्रयोग गरी फालेको पानीको बोत्तल , प्लास्टीक लगायतको फोहोरका कारण राजमार्ग क्षेत्र कुरुप बन्दै गएकाले अभियान सञ्चालन गरेर सफाईका निम्ति सन्देश समेत दिन खोजिएको जानकारी दिएका छन् ।