चीन र पाकिस्तानसँग एकै पटक युद्ध हुनसक्ने भारतीय सेना प्रमुखलाई डर

२२ भाद्र २०७४, बिहीबार ०३:२२

२२ भदौ । भारतीय सेना प्रमुख विपिन रावतले चीन र पाकिस्तानसँग एकैपटक युद्ध हुन सक्ने आशंका व्यक्त गरेका छन् । दुबै मुलुकसँग एकै पटक युद्ध झेल्न सहज नहुने भन्दै उनले त्यसका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका हुन् ।

 

रावतले बुधबार एक सेमिनारमा चीन र पाकिस्तानले एकै पटक भारतसँग युद्ध गर्न सक्ने सम्भावना औंल्याएका हुन् । उनले भने, ‘हामीले दुबै मोर्चासँग युद्धको तयारीलाई ध्यान दिनु पर्दछ ।’

उनले सीमा क्षेत्रमा चीनले भारतको शक्ति परीक्षण गरिरहेको बताए । उनले भने, ‘कुनै पनि बेला चीनले सीमा क्षेत्रमा युद्ध सुरु गर्ने सम्भावनालाई नकार्न सकिदैंन ।’ चीनले हमला गरेको अवस्थामा पाकिस्तानले पनि मौकाको फाइदा उठाउन सक्ने उनको बुझाइ छ । ‘भारतले एकै पटक उत्तरी र पश्चिमी सीमामा आफ्नो प्रभावलाई बढाउन जरुरी छ,’ उनले भने ।

चीनले सीमा क्षेत्रमा आक्रामकता देखाउन थालेको भन्दै उनले कुनै पनि समय चीनले युद्ध गर्न सक्ने बताए । भारतको परमाणु क्षमताले युद्धको सम्भावनालाई केही कम गरे पनि त्यसले युद्धलाई सदाका लागि टार्न सक्छ भन्नु गलत हुने टिप्पणी गरे । उनले भने, ‘हाम्रा छिमेकी पनि परमाणु शक्ति सम्पन्न छन् ।’

हालै भारत र चीनबीच सीमा क्षेत्रमा देखिएको द्वन्द्व अन्त्य भएको छ । तत्कालका लागि द्वन्द्व अन्त्य भए पनि यसले कुनै पनि बेला फेरि नयाँ विवाद निम्त्याउन सक्ने भारतीय सेना प्रमुख रावतको भनाइ छ ।

उल्लेखनीय छ, चीनले भारतीय सेना दोक्लामको विवादित क्षेत्रबाट फिर्ता भएपछि तत्कालका लागि विवाद अन्त्य भएको बताएको छ । आफ्नो सीमा क्षेत्रमा कुनै प्रकारको घुसपैठ भएमा त्यसको सशक्त प्रतिकार गरिने चीनको चेतावनी छ । ९एजेन्सी०