चीनसँगको ‘बढ्दो मित्रत्रा’प्रति ट्रम्पको प्रसंशा

२४ कार्तिक २०७४, शुक्रबार ०२:१४

कात्तिक २४, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रत्राको प्रसंशा गरेको छ ।

अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित भोजमा सहभागी हुँदै उक्त कुरा बताएको हो । भोजमा ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई ‘टोस्ट’ दिँदै भने , “हामीबीचको सम्बन्ध आगामी दिनमा थप मजबुत बन्दै जानेछ ।”  चिनियाँ परम्परागत शैलीका सामग्रीले सजाइएको गोल्डेन हलमा भएको भोजमा निकै प्रफुल्ल मुद्रामा उपस्थित अमेरिकी राष्ट्रपति र प्रथम महिलालाई गत फेब्रुवरीमा अमेरिकाको फ्लोरिडामा चीनका राष्ट्रपतिलाई गरिएको सम्मानको भिडियो पृष्टभूमिमा देखाइएको थियो ।

 

त्यसैगरी चिनियाँ राष्ट्रपति सीले पनि आफ्ना अमेरिकी समकक्षीलाई टोस्ट दिँदै चीन र अमेरिकाबीचको सम्बन्ध आजका दिनसम्म आइपुग्दा निकै मित्रवत बनेको बताए । सो अवसरमा सीले दुई देशले “सीमित चुनौति र विकासका लागि अनन्त सम्भावना” सामना गरिरहेका बताए । समारोहमा उपस्थित अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले भने, “चीनसँग व्यापार सम्झौताका बिषयमा भएका छलफलले दुई मुलुकबीचको भिन्नतालाई निकै साँघुरिएको छ ।” टिलरसनले राष्ट्रपतिको चीन भ्रमणको दोस्रो अर्थात् अन्तिम दिन अझै धेरै काम गर्न बाँकी रहेको छ ।

यसपहिले अमेरिकी राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीच असमान व्यापार अभ्यास भइरहेको र यसले अमेरिकाले चीनसँगे व्यापार घाटा व्यहोर्नूपरेको बताएको थियो । तर व्यापारमा चीनले गरेको नाफाबारे धेरैलाई अचम्म पार्दै ट्रम्पले त्यसमा चीन दोषी नभएको बताउँदै ,“आफ्ना नागरिकको हितका निम्ति कुनै देशले अर्को देशसंग फाइदा लिनुलाई खराब भन्न मिल्दैन । ”  यसमा विगतका अमेरिकी प्रशासनहरु नै चीनसँगको एक पक्षीय र पक्षपातपूर्ण व्यापार सम्बन्धका निम्ति जिम्मेवार रहेको ट्रम्पको दावी थियो । ट्रम्पले चीन भ्रमणका क्रममा राष्ट्रपति सीलाई उत्तर कोरियालाई परमाणु निरस्त्रीकरणमा मनाउन थप मिहेनत गर्न पनि अनुरोध गरेको छ ।