ग्राफिक डिजाइनमा मासिक ६० हजार कमाई

सरासर पसलमा छिरेर ‘दाइ हुनुहुन्न ?’ फेसबुकमा न्यूज फिड हेरिरहेका पातला अधबैँसे मानिसलाई सोधेँ । ‘हुनुहुन्छ’, उनले भने । मैले ‘पार्टिसन’ गरेको तल्लो कोठातिर आँखा घुमाएँ । त्यहाँ सर्टिफिकेटहरू लेमिनेसन गरिरहेका रहेछन् उनी अर्थात् शङ्कर मानन्धर । उनलाई चिनेको थिएँ । तर नाम थाहा थिएन । त्यसैले नामसँगै अरू थुप्रै प्रश्नहरू सोधेँ ।


मानन्धर सगुन डिजाइन एण्ड प्रिन्टिङ प्रेसका सञ्चालक हुन् । सगुन बागबजारको भक्तपुर बसपार्क नजिकै उनकै आफ्नै घरमा १५ वर्ष पहिले खोलेका हुन् उनले । मलाई ग्राफिक डिजाइन पसल सञ्चालन गरिरहेका व्यक्तिसँग कुरा गर्न मन लागिरहेको थियो । बागबजारका अन्य केही पसलहरूमा गएँ । तर कुरा गर्न सकिएन । फेरि खोज्दै हिँडेँ । अनि उनलाई भेटेँ जो सहजै कुरा गर्न तयार भए ।

सगुनमा मानन्धरले २०–२५ लाख लगानी गरेका थिए । आफ्नो लगानी उठाउन त्यति गाह्रो नभए पनि पछि तीव्र प्रतिस्पर्धाका कारण टिक्न थुप्रै मेहेनत गर्नुपरेको छ उनले । सगुनको सुरुवाती केही वर्षहरूमा बागबजार क्षेत्रमा डिजाइनिङ हाउसहरू त्यति थिएनन् । प्रतिस्पर्धा कम थियो । तर अहिले हरेक घर बराबर नै त्यस्ता पसलहरू छन् । उनी भन्छन्, ‘पहिले थोरै मात्र डिजाइन पसल थिए, प्रतिस्पर्धा कम थियो । अहिले धेरै प्रतिस्पर्धा छ ।’ प्रतिस्पर्धा थोरै हुँदा मासिक एक देखि डेढ लाखसम्म कमाउँथे उनी । तर पछिल्लो समय ५० देखि ६० हजार मात्र नाफा हुन्छ । उनले दुई जना स्टाफहरूलाई तलव र घरभाडा तिरेर त्यति नाफा गर्ने गरेका हुन् ।

उनी आफ्नै घर भएपनि घरभाडा तिर्छन् । उनी आमालाई हरेक महिनाको ४ गते एउटा सटरको ४२ हजार तिर्छन् । ‘दाजुभाइ छन्’, उनी भन्छन्, ‘हिसाब गर्नकै लागि पनि भाडा त तिर्नै प¥यो ।’ उनको लागि यो भाडा निकै महङ्गो हो । तैपनि उनले व्यवस्थापन विषयमा स्नातक गर्दै गरेकी छोरी र प्लस टु गर्दै गरेका छोरालाई पढाउनेदेखि घर खर्च चलाएका छन् । तर यसमा उनको श्रीमतीको पनि आधा भार छ । श्रीमतीले पनि उनलेझैँ डिजाइन पसल नै सञ्चालन गरेकी छिन्, त्यहीँ बागबजारमा ।

२०४४ सालमा बि.कम. (ब्याचलर इन कमर्स) गरेका मानन्धर ग्राफिक डिजाइनिङमा विश्वविद्यालयको पढाइ त्यति आवश्यक देख्दैनन् । उनको अनुभवमा कम्प्युटरको ग्राफिक ‘प्याकेज एप्लिकेसन’ जान्नु नै यसका लागि पढाइ हो । उनका अनुसार विशेषगरी फोटोसप र फ्रिहेन्डको ज्ञान हुन आवश्यक छ । त्यस्तै उनी कहिलेकाहीँ कोरलड्र पनि प्रयोग गर्छन् । इल्लुस्टे«टर लगायत अन्य सफ्टवेरहरू खासै प्रयोग गर्दैनन् उनी । उनले प्रयोग गर्ने सफ्टवेरहरूमा फ्लेक्स, आइडि कार्ड, विवाह निमन्त्रणा, सर्टिफिकेट लगायत डिजाइन गर्छन् उनी । उनी यी बाहेक टि–सर्ट प्रिन्ट, रबर प्रिन्ट लगायतका प्रिन्ट सम्बन्धी थुप्रै कामहरू गर्छन् ।

सञ्चालक मानन्धरलाई ग्राहकहरू पसलमा आएपछि फर्केर नजाउन् भन्ने लाग्छ । त्यसैले सामान्य भएर बोल्छन् । अनि हरेक प्रिन्टिङको मूल्य अन्य पसलभन्दा कम भन्न मन लाग्छ उनलाई । उनी भन्छन्, ‘दस ठाउँ सोधेर आ’को हुन्छ ग्राहक, अरूकोमा भन्दा कम भन्नुपर्ने हुन्छ ।’ त्यसैले ५० देखि ६० प्रतिशतसम्म पहिले हुने नाफा अहिले २५ प्रतिशतमा झरेको छ ।

मानन्धरको पसलमा धेरै थरिका ग्राहक आएका छन् । कोही हँसिलो, कोही रिसाहा, कोही धेरै बार्गेनिङ गर्ने भने कोही एक शब्दमै हुन्छ भन्नेहरू पनि आएका छन् । रिसाहा ग्राहकसँग उनलाई पनि रिस उठ्छ तर रिस देखाउँदैनन् उनी । रिसलाई काबुमा राख्ने क्षमता उनमा छ । उनलाई यस्ता विभिन्न चिजले कहिलेकाहीँ दिक्क पनि पारेको छ । तर यसमै ‘रगत मिसिसकेकाले’ यो पेसा छोड्न सकेका छैनन् उनले ।

यो पेसा त्यति धेरै सजिलो चाहिँ लाग्दैन उनलाई । हरेक दिन बिहानदेखि बेलुकासम्म खटिनुपर्छ । बिदा भन्न पाइदैन । कहिलेकाहीँ बिदामै बढी काम आउने उनको अनुभव छ । कहिलेकाहीँ निकै नै प्रेसर हुन्छ । ग्राहकलाई दिएको समयसीमाभित्र काम सक्न कहिलेकाहीँ गाह्रो हुन्छ । तर अलि धेरै समय दिएर भए पनि उनले समयसीमामै काम सक्ने गरेका छन् ।

जस्तोसुकै भएपनि उनी आफ्नो काममा सन्तुष्ट छन् । त्यही सन्तुष्टिले उनी बागबजारमा ग्राहकको सन्तुष्टिका लागि सगुनको सेवा दिइरहेका छन् ।

(आयोखबरका सहकर्मी सन्तोष निराले गरेको कुराकानीका आधारमा)


प्रकाशित | २०७४ कार्तिक ५ प्रकाशित १२:५३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ