गोरखामा एउटै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिए

१० फाल्गुन २०७७, सोमबार १४:४७

गोरखा । बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन् । आज बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

अहिले इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको उपरीक्षक गुरुङले जानकारी दिए। घटनास्थलमा पुगेर थप अनुसन्धान नगरेसम्म थप केही बताउन नसक्ने उनको भनाइ छ।