खेलकर्मीहरुले सुरु गरे श्रेष्ठलाई जिताउन अभियान

१४ मंसिर २०७४, बिहीबार १४:१०

मंसिर १४, काठमाडौँ । विभिन्न खेलका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडिहरुले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ८ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार जीवनराम श्रेष्ठलाई जिताउने गरी अभियान सुरु गरेका छन् ।

काठमाडौँको कालिमाटीमा भेला गरी उनिहरुले नेपाली खेल क्षेत्र र खेलाडिहरु श्रेष्ठको उम्मेदवारीले उत्साहित भएको भन्दै आफ्नो सम्पुर्ण ध्यान उनको जीतमा केन्द्रीत गर्ने निर्णय गरेका छन् । काठमाडौँको क्षेत्र नम्बर ८ मा बसोबास भएका खेलाडि तथा प्रशिक्षकहरुले आगामी संसदमा खेल क्षेत्रका समस्याहरु उजागर गर्न श्रेष्ठको जीत अनिवार्य भएको उनको भनाई छ ।  भेलाको अध्यक्षता गरेका बडि बिल्डिङका राष्ट्रिय प्रशिक्षक राजेन्द्र तुलाधरले खेलकुद क्षेत्रको समस्या समाधान गर्दै खेलाडिहरुको भविष्य निर्माणका लागि श्रेष्ठले जित्नैपर्ने बताए ।

 

कार्यक्रममा उम्मेदवार तथा एनओसी अध्यक्ष श्रेष्ठले आफ्नो मुख्य प्राथमिकता सम्पदाहरुको संरक्षण र खेल क्षेत्रको विकास रहेकोले आफुलाई जीताउन आग्रह गरे । ‘म तपाईहरुको प्रतिनिधित्व गर्दै उम्मेदवार भएको हुँ । संसदमा तपाईहरुकै प्रतिनिधीका रुपमा कानुन बनाउन योगदान गर्नेछु ।’ उनले भने, ‘म नयाँ अनुहार हुँ । वाम गठबन्धनले दुई तिहाई बहुमत सहित सरकार बनाउने भएकोले तपाईहरुबाट सहयोगको अपेक्षा गरेको छु ।’  कार्यक्रममा नेकपा एमालेकी उपाध्यक्ष तथा क्षेत्र नम्बर ८ अन्र्तगत ख बाट प्रदेश सभा सदस्य उम्मेदवार अष्टलक्ष्मी शाक्यले वाम गठबन्धनले विकास र सम्वृद्धिको यात्रामा देश अघि बढाउने बताईन । उनले त्यसमा योगदान गर्न खेलाडिहरुलाई आह्वान गरिन ।

 

यसैगरी काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले खेल क्षेत्रको विकासका लागि महानगर खेलाडिहरुसंग सहकार्यका लागि तयार रहेको बताए । उनले भने, ‘तपाईहरुको समस्या समाधानमा महानगरले साथ दिनेछ । अहिले हामीलाई तपाईको सहयोगको आवश्यकता छ । भविष्यमा मिलेर काम गरौँ ।’  कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पाले श्रेष्ठको सफलतासंग खेल क्षेत्रको भविष्य जोडिएको बताए । भेलामा तेक्वान्दोका अर्जुन बिक, धर्म श्रेष्ठ लगायतका मेडलधारी खेलाडिहरुको सहभागिता थियो ।