खुल्ला आकाशमुनि २ सय ५० विद्यार्थी पढ्दै

३० आश्विन २०७४, सोमबार ११:१३

असोज ३०, सिरहा । सिरहाको रामपुर प्राथमिक विद्यालयका २ सय ५० विद्यार्थी खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन् । विद्यालय भवनको छानो नभएपछि उनीहरू घरबाट ल्याएको बोरा भुइँमा ओछ्याएर पढ्न बाध्य भएका हुन् ।

बाल कक्षामा अध्ययन गर्ने बालबालिकाका लागि मोटो कार्पेट सहितको कक्षा कोठा र बालबालिका मैत्री राउन्ड टेबल हुनु पर्ने व्यबस्था भएपनि रामपुर प्राविमा अध्ययन गर्ने बालबालिकाहरु थोत्रे काठपात राखेको गोदाम जस्तो कोठामा पढ्छन् । विद्यालयको बाल कक्षा र कक्षा एकमा विद्यार्थी बस्ने डेक्स बेन्च पनि छैन । कोठाको छानो पनि छैन ।

दुई वर्ष अघि हावाहुरीले विद्यालयको छानो उडाएको थियो । छानो नहुँदा शीत लहर र प्रचण्ड गर्मी खुल्ला आकाशमनि नै झेल्नु पर्ने अवस्था रहेको स्थानीय ककुल्ती रामले बताइन् । यसले गर्दा केटाकेटीहरू बिरामी समेत पर्ने गरेको अभिभावक राजकुमारी मोचीले गुनासो गरिन् । छानो हावा हुरीले उडाएको दुई वर्ष भइसक्दा पनि मर्मत नगर्दा विद्यार्थीको पढाई लेखाई बिग्रेको मोचीको भनाइ छ ।

यस्तै अत्यधिक गर्मी र हावाहुरीको समयमा बिद्यालयले बालबालिकालाई बिदा दिने समेत गरेको छ ।

विद्यार्थीहरूलाई अप्ठ्यारो भएको स्विकार गर्दै विद्यालयका प्राध्यानाध्यापक प्रकाश गुप्ताले विद्यालयको कुनै श्रोत नभएकाले भत्किएको छानो मर्मत गर्न नसकेको बताए ।