खतरनाक माइग्रेन रोगको लक्ष्यण र उपचार विधि

२३ मंसिर २०७४, शनिबार १५:०८

माइग्रेनलाई एकापट्टिको टाउको अकस्मात रुपमा दुखाई सुरु भएर घण्टौंसम्म र कहिलेकाँही लगातार केही दिनसम्म टाउको दुख्ने र त्यसपछि विस्तारै आराम हुँदैजाने समस्यालाई बुझिन्छ । टाउको दुखाई हाम्रो शरीरको धेरै मात्रामा देखिने शारिरिक समस्या मध्येको एक हो । अहिलेको तनावयुक्त जीवनमा धेरै मानिसलाई टाउको दुख्ने समस्या हुन सक्छ ।

अचानक टाउकोमा तीव्र पीडा भए वा काममा मन नलागे कतिपयले पेनकिलर खान्छन् । माइग्रेनको पीडामा यस्तो गर्नेहरूले सम्हालिनुपर्छ । सुरुवातमा माइग्रेनको समस्या औषधि खाएर कम हुन्छ यद्यपि यसरी रोकथामको प्रयास गर्नु हानिकारक हुन सक्छ । तनावका कारण हुने टाउको दुखाई खास गरी मानसिक अथवा शारीरिक धपेडीको कारणले हुन्छ । सबैखालका तनावले मानव शरीरलाई विस्तारै कमजोर बनाउँदै लान्छ र टाउको दुखाई प्रमुख लक्षणको रुपमा देखापर्छ । तनावका कारण हुने टाउको दुखाईपछिको अर्को टाउको दुखाईको प्रमुख कारण ‘माइग्रेन’ हो । माइग्रेनको प्रमुख कारण टाउको भित्रको रक्तनलीको चाल कुनै कारणले ज्यादै खुम्चने र चल्ने भएमा त्यसपछि टाउको दुखाई सुरु हुन्छ । मानव शरीरमा पाइने ‘हर्मोन’को कारणले पनि माइग्रेन हुन्छ । जसको शरीरमा हर्मोनको सन्तुलन गडबड छ अथवा जसले अन्य हर्मोन औषधिको प्रयोग गरेको छ, त्यस्तो व्यक्तिलाई माइग्रेन हुने सम्भावना ज्यादा हुन्छ ।

 

हर्मोनयुक्त परिवार नियोजनका चक्की र सुई पनि माइग्रेनको कारण बन्नसक्छ । आजको समयमा माइग्रेनको टाउको दुखाई बढ्दो मात्रमा देखिएको छ । त्यसको कारण आधुनिक रहनसहन, खानपिन र वातावरणीय हो । कहिलेकाँहीं माइग्रेनको टाउको दुखाई र तनावको टाउको दुखाई एकैचोटी मिश्रित रुपमा पनि देखिनसक्छ । त्यसबाहेक रुघाखोकी, पिनास, ज्वरो, सामान्य टाउकोको चोट आदिले पनि टाउको दुख्छ । यी सबैखाले टाउको दुखाई साधारण अथवा खतरा नभएका टाउको दुखाई हुन् र यो सामान्य उपचारले ठीक हुन्छन् । यी वाहेक अरु अलि खतरापूर्ण टाउको दुखाई पनि हुन्छन् । टाउकोमा पानी जमेर, रगत जमेर, ट्युमर पलाएर, गहिरो चोट लागेर आदि कारणले खतरनाक टाउको दुखाईको समस्या आइपर्न सक्छ । यी कारणहरु शरीरको लागि हानिकारक हुन सक्छन् र तीबाट बच्न विशेष उपचारको आवश्यकता पर्नसक्छ ।

 

लक्षणहरु

माइग्रेनको टाउको दुखाई अचानक सुरु भई कसैकसैलाई टाउको फुट्ला जस्तो गरी दुख्न थाल्छ र पछि विस्तारै कम भएर जान्छ । टाउको दुखाई विस्तारै विस्तारै बढ्दै जान्छ र हप्तामै २–३ चोटीसम्म वा हरेक दिन टाउको दुख्ने हुन्छ । टाउको दुखाई बाहेक माइग्रेनमा उल्टी हुनु अर्को लक्षण हो । प्रायः मानिसलाई उल्टी भएपछि टाउको दुखाई आराम भएर आउँछ । कसैलाई उल्टी नभए पनि वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने पनि हुन्छ । कसैकसैलाई टाउको दुख्नु अघि बेग्लै किसिमको लक्षण पनि देखिन्छ, जसलाई अंग्रेजीमा औरा भनिन्छ । औराका लक्षणहरु मन्द टाउको भारी हुने, आँखाको गेडा दुख्ने, आँखा तिरमिर भएर हेर्न गाह्रो हुने, आँखा खोल्न गाह्रो हुने आदि । त्यसपछि विस्तारै टाउको दुख्ने बढ्दै जान्छ । खाना माइग्रेन बढ्नुको एक प्रमुख कारण हो ।

 

तयारी टीन, फ्रिजमा धेरै लामो समयसम्म राखिएका बासी खानेकुरा, खाँदेर बनाइएका खानेकुरा जस्तै गुन्द्रुक, सिसिको अचार आदिले माइग्रेनलाई बढाउँछ । त्यस्तै अल्कोहलयुक्त पेय पदार्थ, फिज आउने पेय पदार्थ जस्तैः कोक, फ्यान्टा, दही, आइस, क्रिम, चक्लेट, चिज, पनिर आदिले पनि टाउको ज्यादै दुखाउँछ । त्यसो भए एउटा प्रश्न उठ्न सक्छ कि यी खानेकुराहरु कसैले पनि खानु हुन्न तरु अथवा यी खानेकुराहरु खाएमा माइग्रेन हुन्छ तरु होइन, यी खानेकुराले माइग्रेन गराउँदैन । तर जसलाई माइग्रेन छ, उसलाई भने यी खानेकुराले टाउको अत्यधिक दुख्न सक्छ । माइग्रेन प्रायजस्तो महिलामा बढी मात्रामा हुन्छ । यसको कारण हो, शरीरमा हुने हर्मोनको अवस्था । पुरुषमा भन्दा महिलामा हर्मोनको अवस्था बढी असन्तुलित हुन्छ ।

 

यसै क्रममा अर्को प्रश्न उठ्न सक्छ कि माइग्रेन लोग्ने मान्छेलाई हुँदैन तरु त्यसो होइन । माइग्रेन लोग्ने मान्छेलाई पनि हुन सक्छ । तर महिलालाई भन्दाकम । जो लोग्ने मानिस अधिकतम धुम्रपान र मदिरा पान गर्दछ उसलाई माइग्रेन ज्यादा हुने सम्भावना हुन्छ । माइग्रेनका अन्य कारणहरुमा बढी मात्रमा टेलिभिजन र कम्प्युटरको प्रयोग गर्नु पनि हो ।   सुक्ष्म काम ज्यादा गर्नु, आँखालई बढी असर पर्ने काम गर्नुले पनि माइग्रेनको टाउको दुखाई बढाई दिन्छ । घाममा ज्यादा हिंड्नु वा चर्को घाममा बस्नुले पनि माइग्रेन बढाउँछ ।

 

उपचार

मानिसहरुमा माइग्रेन ठीक हुँदैन भन्ने भ्रम भएको पाइन्छ । त्यसमाथि हाम्रो नेपाली जनमानसमा डाक्टरले भनेको कुरालाई पूर्णतः पालना गर्ने चलनको पनि कमी देखिन्छ । त्यती मात्रै नभई विशेषज्ञ डाक्टरले भनेको भन्दा अन्य व्यक्तिहरुले जस्तै साथीभाई, परिवार सदस्य, औषधि बेच्ने फर्मा्सिस्ट, फिजियोथेरापी सिकाउने टेक्निसियन, आधुनिक चिकित्सा पद्दती बाहेक अन्य चिकित्सकीय सेवा प्रदान गर्ने व्यक्ति जसमा सम्बन्धित विशेषज्ञमाभन्दा ज्ञान र अनुभव कम हुन्छ, ती व्यक्तिहरुले भनेको कुरामा बढी विश्वास राख्ने चलन छ । सही तरीकाले उपचार गरेमा माइग्रेन निको मात्रै होइन निर्मुल पनि हुन्छ । ठीक हुन्छ या हुन्न भन्ने कुरा व्यक्ति र शरीरको अवस्था अनुसार पनि फरक पर्ने कुरा हो । माइग्रेनको उपचारका तरीकाहरु विभिन्न छन् ।

 

औषधिको प्रयोग त्यसमध्ये एक प्रमुख उपाय हो । यदि कसैलाई महिनाको १÷२ चोटी मात्र हल्का टाउको दुख्छ भने उसलाई आवश्यक परेमा औषधिको सेवन गरे पुग्छ । तर यदि कसैलाई हप्ताकै २÷३ चोटी वा हरेक दिन टाउको दुख्छ भने नियमित औषधि खानुपर्छ । कसलाई कुन, कस्तो र कति औषधि दिने भन्ने कुरा विशेषज्ञ डाक्टरको निर्णय हो । नियमित औषधि खानुपर्ने अवस्था आएमा कम्तिमा केही महिना औषधिको सेवन गर्नुपर्दछ र डाक्टरको सल्लाह बमोजिम विस्तारै औषधि बन्द गर्दै जानुपर्दछ । ठीक भयो भन्दैमा एकैचोटी औषधि बन्द गरेमा फेरि माइग्रेन बल्झिन्छ र त्यसलाई झन् कडा र उच्च डोजको औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।

 

माइग्रेनको विरामीहरुले केही हप्ता औषधि खाएपछि ठीक भएको महसुस गर्छन् र औषधि बन्द गर्छन् । त्यसको केही समय त आरामै होला तर पछिफेरि टाउकोको दुखाई ज्यादै भएर आउने गर्दछ । त्यसैले नियमित औषधि सेवा माइग्रेनबाट बच्ने र छुटकारा पाउने राम्रो उपाय हो । त्यसबाहेक अन्य कुराहरु जसले माइग्रेनबाट बचाउन सहयोग गर्दछ यी चिजहरुबाट टाढा रहेर पनि माइग्रेनलाई ठीक पार्न सकिन्छ । जस्तै माथि उल्लेखित खानेकुराहरु बार्ने, हर्मोनयुक्त औषधिको प्रयोग नगर्ने, लामो समयसम्म टिभी, कम्प्युटर, भिडियो गेम प्रयोग नगर्ने, अल्कोहलयुक्त पेय पदार्थको सेवन नगर्ने, घाममा लामो समय नबस्ने आदि उपायहरुको अबलम्वन गर्नुपर्दछ । यती उपचार गर्दागर्दै पनि कसै कसैलाई माइग्रेन ठीक नहुन सक्छ । त्यस्तो व्यक्तिलाई आवश्यकता अनुसार औषधि मिलाउँदै गए निश्चय पनि राम्रो हुन्छ ।