प्रतिनिधिसभामा कुनैपनि राजनीतिक दलको बहुमत नपुग्ने: दुई तिहाइ र बहुमतको कीर्तिमान कांग्रेसमा सीमित

५ पुष २०७४, बुधबार ०९:१३

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामले केन्द्रीय संसद प्रतिनिधिसभामा कुनैपनि राजनीतिक दलको बहुमत नपुग्ने देखाएको छ । नेपालको संविधानअनुसार गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुल २७५ सदस्यीय प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन भएको थियो ।

निर्वाचन अयोगको तथ्यांकअनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाम हेर्दा कुनैपनि दलको स्पस्ट बहुमत नपुग्ने देखिएको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको कुल १६५ निर्वाचन क्षेत्रमध्ये नेकपा एमाले ८०, नेकपा माओवादी केन्द्र ३६, नेपाली कांग्रेस २३, राष्ट्रिय जनता पार्टी नेपाल ११ र संघीय समाजवादी फोरम नेपाल १०, नयाँ शक्ति पार्टी नेपाल एक, नेपाल मजदुर किसान पार्टी एक, राष्ट्रिय जनमोर्चा एक र राष्ट्रिय प्रजातन्त्र पार्टी एक तथा स्वतन्त्र एक स्थानमा विजयी भएका छन् ।

ती राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेका मतका आधारमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ६/६ सिट पाउने प्रारम्भिक मतपरिणामले देखाएको छ ।निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोगले शीघ्र समानुपातिकतर्फको मतपरिणामका आधारमा दलले प्राप्त गर्ने सिट संख्या बाडफाँट गरी सार्वजनिक गर्ने जानकारी दिए । दुवै प्रणालीतर्फका परिणामअनुसार प्रतिनिधिसभामा एमाले १२१ सिटसहित सबैभन्दा ठूलो दल बन्नेछ । कांग्रेस ६३ सिटसहित दोस्रो ठूलो दल बन्नेछ । त्यस्तै, माओवादी केन्द्रले ५३, राजपा नेपालले १७ र संघीय समाजवादी फोरमले १६ सिट प्राप्त गर्ने देखिएको छ । संविधानअनुसार कुल २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सदस्य संख्या आवश्यक पर्छ । प्रतिनिधिसभामा तीमध्ये १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन भएको थियो ।

कुनै एक दलको बहुमत नभएका कारण अब सरकार गठन गर्न कम्तीमा दुई दलको गठबन्धन आवश्यक पर्नेछ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अपनाइएको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै एक दललाई दुई तिहाइ र बहुमत प्राप्त गर्न गाह्रो हुने राजनीतिक विश्लेषकको भनाइ छ । संवैधानिक कानुनका ज्ञाता डा. भीमार्जुन आचार्य कुनै एक दलको बहुमत नआउनुलाई समानुपातिक निर्वाचन प्रणालीसँगै निर्वाचनमा गठबन्धन हुनु मुख्य कारकतत्व देख्छन् । उनी भन्छन्–‘कुनै एक दलको बहुमत नआएसम्म संविधानअनुसार राजनीतिक स्थायित्वको सम्भावना छैन ।’

निर्वाचनमा प्रत्यक्षतर्फ एमाले बहुमतको नजिक पुगेपनि समानुपातिक प्रणालीतर्फको मतपरिणामले बहुमत प्राप्त गर्न सकेन । वि.सं. २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पनि तत्कालीन माओवादी पार्टीले प्रत्यक्षतर्फ झन्डै बहुमत ल्याएपनि समानुपातिकतर्फ भने बहुमत पुग्न सकेन । वि.सं. २०१५ देखि हालसम्म मुलुकमा सात आमनिर्वाचन सम्पन्न भए । तर, ती सबै निर्वाचनमा कांग्रेसबाहेक कुनैपनि दलले दुई तिहाइ र बहुमत प्राप्त गर्न सकेका छैनन् । नेपालमा निर्वाचनको इतिहास हेर्ने हो भने २००७ सालमा प्रजातन्त्रको स्थापनापछि बालिग मताधिकारका आधारमा सर्वप्रथम वि.सं. २०१५ फागुन ७ गते पहिलो संसदीय निर्वाचन भएको थियो । त्यस्तै, नेपाल राष्ट्रवादी गोर्खा परिषदले १९, संयुक्त प्रजातन्त्र पार्टी नेपालले पाँच, नेपाल कम्युनिष्ट पार्टीले चार, नेपाल प्रजापरिषद (घन कोदालो)ले दुई, नेपाल प्रजा परिषद (हलो)ले एक र स्वतन्त्रले चार स्थानमा विजय हासिल गरेका थिए ।

वि.सं. २०४६ चैत २६ गते प्रजातन्त्रको पुनः स्थापनापछि २०४८ सालमा प्रतिनिधिसभा निर्वाचन भयो । २०५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले ११० स्थानमा विजय हासिल गरी बहुमत प्राप्त गर्‍यो । त्यस्तै, एमाले ६९, संयुक्त जनमोर्चा नेपाल ९, नेपाल सद्भावना पार्टी ६, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) तीन, नेपाल मजदुर किसान पार्टी दुई, नेकपा प्रजातन्त्रवादी दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) एक र स्वतन्त्रले तीन स्थानमा विजय हासिल गरेका थिए ।कांग्रेसको बहुमतको सरकारले वि.सं २०५१ मा मध्यावधि निर्वाचनको घोषणा गर्‍यो । कुल २०५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचनमा कुनैपनि दलले बहुमत ल्याउन सकेनन् ।

एमाले ८८ स्थानमा जितेर संसदमा ठूलो दल बन्यो भने नेपाली कांग्रेस ८३, राष्ट्रिय प्रजातन्त्र पार्टी २०, नेपाल मजदुर किसान पार्टी चार, नेपाल सद्भावना पार्टी तीन र स्वतन्त्र सात स्थानमा विजयी भएका थिए । वि.सं. २०५६ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले १११ स्थानमा विजय हासिल गरी पुनः बहुमत ल्यायो । सो निर्वाचनमा एमाले ७१, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, नेपाल सद्भावना पार्टी पाँच, राष्ट्रिय जनमोर्चा पाँच, संयुक्त जनमोर्चा नेपाल एक, नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएका थिए ।

वि.सं. २०६२/०६३ को जनआन्दोलनको सफलतासँगै मुलुकमा पहिलोपटक २०६४ साल चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो । यसै निर्वाचनदेखि नेपालमा प्रत्यक्षसँगै समानुपातिक निर्वाचन प्रणाली अपनाइएको हो । सशस्त्र संघर्ष गरेर आएको माओवादीले निर्वाचनमा प्रत्यक्षतर्फ झन्डै बहुमत ल्याएको थियो । तर, समानुपातिकतर्फको मतपरिणामपछि भने कुनैपनि दलको बहुमत पुगेन । कुल ६०१ सदस्यीय संविधानसभामा २३८ स्थानमा विजय हासिल गरेर माओवादी सबैभन्दा ठूलो दल बनेको थियोे ।

पहिलो संविधानसभा संविधान जारी गर्न नसकी विघटन हुन पुग्यो । त्यसपछि मुलुकमा पुनः २०७० मंसिर ४ गते दोस्रोपटक संविधानसभाको निर्वाचन भयो । ६०१ सदस्यीय संविधानसभामा नेपाली कांग्रेसले २०७ स्थान हासिल गरी सबैभन्दा ठूलो दल बन्यो । तर, यस निर्वाचनमा पनि कसैले बहुमत ल्याउन सकेनन् । परिणामस्वरुप मुलुकमा राजनीतिक अस्थिरता र अल्पायुमै सरकार परिवर्तन गर्ने प्रवृत्ति मौलाउँदै गएको थियो । नयाँ संविधानले यस प्रवृत्तिलाई केही नियन्त्रण गरेकाले अगामी दिनमा मुलुकमा राजनीतिक स्थिरता कायम हुनेमा आशा गर्न सकिन्छ भनेर राससले समाचार लेखेको छ ।