काभ्रे-रोशी ३ का अध्यक्ष मनोमानी ढंगले कार्य सञ्चालन गर्दै

२५ मंसिर २०७४, सोमबार ०५:४८

मंसिर २५, काठमाडौं । काभ्रे जिल्ला रोशी गाउँपालिका वडा ३ का अध्यक्ष धनजीत लामाले आफूखुसी विकास योजना कार्यक्रम वितरण गर्दै आएको आरोप छ । साविकको शिखर आम्बोटे गा.वि.स हाल रोशीगाउँपालिका वडा ३ बाट गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट निर्वाचित लामाले विकासका गतिविधिमा अन्य संयन्त्रलाई समेत जानकारी नदिई एक्लौटी ढंगबाट गतिविधि सञ्चालन गर्दै आइरहेको कुरा बाहिर आएको छ ।

त्यस्तै निर्वाचनको बेला आफ्नो पक्षमा मत प्राप्त गर्न स्थानीय जनताहरुलाई विभिन्न आश्वासन दिएर केही झिनो मतले निर्वाचित भएका अध्यक्ष लामाले केही व्यक्तिको प्रभावमा रहेर समेत विकास निर्माणको बजेट अनआवश्यक ठाउँमा दिने निर्णय गरेको स्थानीयहरुको आरोप छ ।  शिखर हुदैं भदौरे सम्मको मोटरबाटोलाई पुनः भदौरे र साझाँकोटको मुनी बस्ती नभएको पाखाभारीबाट वैकल्पिक बाटो निर्माण गर्न १० लाख रकम दिने निर्णय गरेको थाहा पाएपछि मझुवा र मसरंगीका जनताहरु आक्रोश पोखेका छन् । मझुवा र मसरांगीका जनताहरु भने सो बाटो मझुवा हुर्दै खोला किनारा र निंगाले पु¥याउनु पर्ने माग राख्दै आएको छ ।

 

सो छुट्याएको बजेटबाट चार गाउँ भदौरे, मझुवा मसरांगी र भण्डारेलगाएतलाई लाभ पुग्ने त्यहाँका बसिन्दाहरु बताउँछन् । सो निर्णय खारेज नगरे अध्यक्षले चुनौतीको सामना गर्नुपर्ने स्थानीयहरुको चेतवानी समेत छ । वडामा आएका विकास कार्यका सूचना समेत सार्वजनिक नहुदाँ स्थानीय तथा अन्य राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरु समेत ओझेल परेको छ । जनतालाई सार्वजनिक  सूचना पाउँने अधिकार संविधान उल्लेखित भए पनि थुप्रै सरकारी निकायहरुमा सहज तरिकाले सूचना नपाएको गुणासो आएको छ । जसले गर्दा जनताले सही समयमा आफ्नो अधिकारको उपभोग गर्न नपाएर धेरै अवसरहरुबाट बञ्चित बन्न बाध्य छन् ।