काठमाडौं ३ मा बाम गठबन्धनबाट प्रतिनिधिसभामा कृष्ण राईसंगै प्रदेश १ माओवादी केन्द्रलाई, प्रदेश २ मा हरिकृष्णको चर्चा

११ कार्तिक २०७४, शनिबार ०८:५५

कात्तिक ११, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गर्द राजनीतिक दलहरु आ–आफ्ना उम्मेद्वार छनौटमै व्यस्ता छन् । पछिल्लो समयमा राजनीतिक धु्रविकरण बढेसंगै गठबन्धन बनेका नेकपा (एमाले) र माओवादी केन्द्रले काठमाडौं क्षेत्र नं. ३ मा पनि गठबन्धन प्रक्रियाबाटै चुनावी तालमेल मिलाउँदै छन् ।

बाम गठबन्धनबाट काठमाडौं ३ का लागि प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एमालेका कृष्ण राईलाई उम्मेद्वार बनाएको छ भने नेपाली कांग्रेसबाट वर्तमान सहकारी तथा गरिबी मन्त्री अम्बिका बस्नेतलाई उम्मेद्वार बनाएको छ । प्रदेश सभा १ का लागि प्रत्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण केसीलाई उम्मेद्वार बनाउने भएको छ भने प्रदेश सभा २ मा एमालेको भागमा परेकाले उम्मेद्वार छान्नै मुस्किल भएको देखिन्छ तथापी हरिकृण श्रेष्ठको भने प्रवल संभावना रहेको एमाले निकट स्रोतले बताए ।


बाम गठबन्धनबाट प्रदेश सभा सदस्यको लागि १ बाट उम्मेद्वार टुंगिए पनि २ मा भने अझै टुंग्याउन सकिरकेको छैनन् जहाँ एमालेबाट हरिकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना, उद्धव खड्का, उद्धव विष्ट र विश्वराज श्रेष्ठ रहेका छन् । प्रस्तावित ५ जनामध्ये हरिकृष्ण श्रेष्ठले टिकट पाउने लगभग अन्तिम चरणमा पुगेको खबर बाहिर आएको छ ।

अन्य कार्यकर्ताहरुको आवाज पनि हरिकृष्ण श्रेष्ठ नै आउनु पर्ने माग रहेको छ । उनी समाजसेवी, शिक्षासेवी, विकासप्रेमी र सकारात्मक सोँच भएकाले पनि स्थानीयमाझ उनको माग बढेको छ । उनी प्याब्सन काठमाडौंका अध्यक्ष तथा पार्टी जिल्ला सदस्य समेत रहेका छन् ।   त्यस्तै नेपाली कांग्रेसबाट प्रदेशसभाका लागि गजेन्द्र आलेमामा र दिपक रिसालको नाम प्रस्ताव भएको खबर छ ।

 

प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट अम्बिका बस्नेतलाई छनौट गरिएसंगै कांग्रेसका केही नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् । पटक–पटक एउटै व्यक्तिलाई मात्र टिकट दिइएको परिपाटी अन्त्य हुनुपर्ने र पर्शुराम पोख्रोल जस्तो कर्मठ, संघर्षशील र जनमानसमा रुझिएका व्यक्तिलाई उम्मेद्वार नबनाएको भन्दै केही कांग्रेस निकटका व्यक्तिहरुले अलोचना गरेका छन् ।   स्थानीयबासीहरुको भनाईअनुसार कृष्ण राईले सहजै रुपमा जित हासिल गर्न सकिने बताउदै कांग्रसेले बस्नेतको विकल्प अरु उम्मेद्वार बनाएको भए राईलाई चुनौती थपिने थियो । अव काठमाडौं ३ मा प्रतिनिधिसभाका लागि राई नै निरविकल्प रहने कथन छ ।