काँग्रेस नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा

१ आश्विन २०७४, आईतवार ०३:३६

असोज १, जापान । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन् ।

कांग्रेसको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पौडेल जापान आएका थिए । हिजो अपराह्न टोकियोस्थित नारिता बिमानस्थल आइपुगेका उनीहरुमध्ये धनराज गुरुङलाई प्रवेश अनुमति दिइएपनि पौडेललाई भने अध्यागमनले नियन्त्रणमा लिएको हो ।  धनराज गुरुङपछि इमिग्रेसन पुगेका उनीहरुले जापानबाट फर्किने कुरामा आश्वस्त पार्नेगरी जवाफ दिन नसकेपछि सबैभन्दा अन्तिममा इमिग्रेसन पुगेका पौडेल पनि उनीहरुसँगै नियन्त्रयणमा परेको उनीहरुले जानकारी दिएका छन् ।

 

आज साँझ पाँच बजे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको भए पनि अहिलेसम्म पौडेल नियन्त्रयणमा परेकोबारे जनसम्पर्क समितिले औपचारिक रुपमा जानकारी गराएको छैन् । पौडेललाई रिहा गर्न टोकियोस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा समेतले फोन गरेर कोसिस गरेपछि पनि उनि रिहा हुन सकेका छैनन् ।

 

जापान अध्यागमनले विभिन्न समयमा नेपालका उच्च नेताहरुलाई नै अध्यागमनमा रोकिदिने गरेको छ । पर्याप्त कागजात नहुनु, साथमा पर्याप्त डलर नहुनु, नेताहरुलाई प्रायोजन गर्ने जापानस्थित नेपालीको ट्रयाक रेकर्ड राम्रो नहुनु लगायतका कारण नेताहरु इमिग्रेसनमा रोकिने र जापान छिर्न नपाई फिर्ता हुने गरेका छन् । यसअघि एमाले नेता देवी ज्ञवाली, नयाँ शक्तिका नेतालगायतलाई अध्यागमनबाट फर्काइएको थियो  । सीपी गजुरेल लगायतका नेतालाई घण्टौं नियन्त्रणमा लिएर छाडिएको थियो ।