काँग्रेसकै नेतृत्वमा समृद्धि : प्रम देउवा

२ मंसिर २०७४, शनिबार ०५:१३

मङ्सिर २,बैतडी। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसले विजय हासिल गरी देशको समृद्धिको नेतृत्व गर्ने दाबी गरेका छन् ।

उनले काँग्रेसकै नेतृत्वमा संविधान आएको र अब देशको समृद्धि पनि काँग्रेसकै नेतृत्वमा हुने स्पष्ट गरे ।
आफू सुदूरपश्चिममा जन्मेको र यहीँको सन्तान भएकाले नेपाली काँग्रेसलाई भोट दिएर जिताउन उनले आग्रह गरे । नेपाली काँग्रेस लोकतन्त्रको पक्षधर भएकाले प्रधानमन्त्री भए पनि आफूले गल्ती कमजोरी गर्दा मजाले गाली गर्न पाउने अधिकार मतदाता र सबै नागरिकमा भएकोसमेत उनले स्पष्ट पारे ।

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सभालाई सम्बोधन गर्न बैतडीको मलौली पुगेका प्रधानमन्त्री देउवाले विकास निर्माणमा सधैँ पछि परेको सुदूरपश्चिममा भोकमरी, बेरोजगारी रहेकाले यी सबै कुराको काँग्रेसले अन्त्य गर्ने बताए ।   आफूले यी कुरा गर्न नसके आलोचना (गाली) गर्न आफ्नो दैलो सधैँ खुला रहेको बताउँदै उनले भने, “नेपाली काँग्रेसको सरकार भए पञ्चेश्वर परियोजना र सेती परियोजना बन्छ, ढुक्क हुनुहोस् । ”  आफूले हारे सुदूरपश्चिम हार्ने प्रधानमन्त्री देउवाले बताए । काँग्रेसले जिते देशको आर्थिक समृद्धिको नेतृत्व गर्ने उनले बताए ।  प्रधानमन्त्री देउवा बैतडी र दार्चुलाका विभिन्न चुनावी सभालाई सम्बोधन गर्न यता केही दिनदेखि सुदूरपश्चिमको भ्रमणमा रहेका छन् ।