कम्युनिष्टहरुको अस्वस्थ वाम गठबन्धनले लोकतन्त्र र काँग्रेसलाई हानी नपुग्ने उपप्र गच्छेदारको दाबी

२७ कार्तिक २०७४, सोमबार १०:५१

कात्तिक २७, इटहरी । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीतिक इतिहास र विकास निर्माण अभियानमा नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक कार्य गर्दै आएको कुरा सबै नेपाली जनताका माझमा छर्लङ्ग रहेकाले कुनै पनि शक्तिले कांग्रेसलाई हराउन नसक्ने ठोकुवा गरेका छन् ।

उपप्रधानमन्त्री गच्छदारले वाम गठबन्धन अर्थात् कम्युनिष्टको अस्वस्थ मिलनको गठबन्धनले लोकतन्त्र र नेपाली जनताको भाग्य र भविष्यका लागि बारम्बार आहुति दिँदै आएको काँग्रेसलाई हानी नपुग्ने दाबीसमेत गरे ।  उनले सुनसरीको इटहरीमा काँग्रेसले स्थापना गरेको मिडिया सेन्टरको सोमबार उद्घाटन समारोहपछि बोल्नु हुँदा उक्त दाबी गरे ।  उपप्रधानमन्त्री गच्छदारले देशलाई समृद्ध बनाउनका लागि कांग्रेसले अवलम्बन गरेको स्वतन्त्र आर्थिक नीति र विकासप्रति इमान्दार भएर नेपाली जनतालाई सक्षम तुल्याउन गरेको प्रयत्न नै काँग्रेसले जित्ने एकमात्र मूल कारण रहेको पनि स्पष्ट पारे ।

उनले नेपालमा प्रजातन्त्र आएपछि वामपन्थीको नेतृत्वमा पनि सरकार बनेको दृष्टान्त प्रस्तुत गर्दै कांग्रेस नेतृत्वका सरकारले गरेको शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, भौतिक पूर्वाधार र जलविद्युत योजना उदाहरणीय रहेको पनि खुलस्त पारे ।  उनले इटहरी र यस आसपासको पीडाका विषय बन्दै आएको सेहेरा एवं टेङ्ग्रा खोलाको डुबान एवं कटान नियन्त्रणमा निर्वाचनपछि बन्ने लोकतन्त्र पक्षधर अर्थात नेपाली कांग्रेस नेतृत्वको सरकारले पूरा गर्नेतर्फ ठोकुवा गर्दै इटहरीलाई प्रदेश १ को राजधानी बनाउनका लागि आफूले भरमग्दुर प्रयास गर्ने विश्वाससमेत दिलाए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभामा उम्मेदवार रहेका हेमकर्ण पौडेल, कुमारजङग थापा बुद्धिबहादुर कटुवाल र मिडिया सेन्टरका केन्द्रीय अध्यक्ष डा। सुरेश आचार्य, नेपाल पत्रकार महासंघ, सुनसरी शाखा अध्यक्ष अमर खड्कालगायतले बोलेका थिए ।