कमोडिटी बजार, जहाँ सुनदेखि अन्डासम्ममा सौदाबाजी गरिन्छ

२८ साउन, काठमाडौं । व्यवस्थापिका संसदले हालै कमोडिटी बजार (बस्तु विनिमय बजार) सम्बन्धि ऐन २०७३) पारित गरेको छ । तर अझै पनि कमोडिटी बजार के हो र नेपालमा कसरी कारोबार भइरहेको छ भन्ने धेरैलाई थाहा छैन ।
कमोडिटी बजार भनेको सामान्यतया विभिन्न भौतिक बस्तुहरुको अन्तर्राष्टिय मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सम्झौतापत्रको कारोबार गर्ने प्रणाली हो । भौतिक वस्तुहरुमा कृषि उपज, सुन, चाँदी, फलाम लगायत पर्दछन् । यसमा कारोबारको राफसाफ मुख्यतया दुई प्रक्रियाले हुन्छ । कारोबार गरिरहेको वस्तु निश्चित अवधिपछि भौतिकरुपमा प्राप्त गर्ने गरी वा नगदमा मात्रै राफसाफ गर्ने व्यवस्था हुन्छ । यो सेयर बजारभन्दा जोखिमयुक्त त रहेको छ नै, बुझ्न जटिल पनि छ ।के हो कमोडिटी बजार ?

कतिपय देशमा अहिले मौसम पुर्वानुमान सूचकलाई पनि कमोडिटी बजारको रुपमा हेर्न थालिएको बजार सरोकारवालाहरु बताउँछन् । बजार सुचकहरुको पुर्वानुमानको आधारमा पनि यहाँ कारोबार हुने गर्छ ।

हाल नेपालमा तीन एक्सचेन्ज सञ्चालनमा रहेका छन् । त्यसैमध्येको एक मर्कन्टाइल एक्सचेन्ज नेपाल (मेक्स) मा हुने कारोबार प्रणालीको आधारमा कमोडिटी बजार’bout यहाँ बुझाउन खोजिएको छ ।

कसरी हुन्छ त कारोबार ?

कमोडिटी बजारमा मुख्यतया चार किसिमका प्रोडक्टहरु प्रचलनमा छन्, फर्वार्ड, फ्युचर्स, अप्सन र स्वाप । नेपालमा मुख्य रुपमा फ्युचर्स कारोबार बढि प्रचलनमा रहेको छ । यस्तो कारोबारको लागि जुन वस्तुको कारोबार गर्ने हो त्यसको पहिले मूल्य तय गरिन्छ ।

सुन, चाँदी, फलाम, अन्न लगायतका बस्तुहरुको आधिकारिक मूल्य निर्धारण गर्दा यस्ता एक्सचेन्जहरुले विश्व बजारमा चलेको मूल्यलाई आधार मान्छन् । विश्व बजारमा हरेक दिन लाखौं/करोडौं पटक यस्ता वस्तुको कारोबार हुन्छ । धेरै एक्सचेन्जले ब्लुमबर्ग, सिकागो मर्कन्टाइल एक्सचेन्जबाट मूल्य (तथ्यांक किनेर) लिने गर्छन् ।

कहिलेकाहीँ लगानीकर्ताले ती कम्पनीको वेवसाइटमा आउने मूल्य र एक्सचेन्जले आधार मानिरहेको मूल्यमा फरक परेको गुनासो गर्छन् । यस्तो हुनुको एउटा कारण के हो भने एक्सचेन्जले पैसा तिरेर सदस्य बनेर यस्तो मूल्य सुचना लिएको हुन्छ । ती सुचना तत्काल बजारमा (रियल टाइम) जुन दरमा चलेको छ त्यही दरमा आधारित हुन्छ । तर सबैले निशुल्क प्राप्त गर्ने सुचना भने १० देखि ३०/४० सेकेण्डसम्मको फरकमा अध्यावधिक भइरहेको हुन्छ । त्यसो त लगानीकर्ताले पनि पैसा तिरेर रियल टाइममा आधारित मूल्य तथ्यांक लिन सक्छन् ।

‘बजारमा लाखौं/करोडौं पटक कारोबार हुने भएकोले एकै छिनमा बजार नयाँ मूल्य निर्धारण भइसकेको हुनसक्छ,’ मेक्सका डेपुटी महाप्रबन्धक तथा प्रवक्ता नरेन्द्र भट्ट भन्छन् ।
यसअघि कम्पनीहरुले आफ्नो सफ्टवेयर बिगारेर मूल्य दरमा चलखेल गर्ने गरेको पनि नपाइएको भने होइन । तर अब धितोपत्र बोर्डको नियमनको दायरामा आएकोले वस्तुबजारमा चलखेल हुने सम्भावना कम रहने विश्वास गरिएकाे छ । स्थानिय एक्सचेञ्चमा यस्तो मूल्य बजार निर्माताले तय गर्छन् । बजार निर्माता भनेका ब्रोकर कम्पनी वा क्लियरिङ हाउसहरु हुन् । उदाहरणका लागि सुनको मूल्यको कुरा गर्दा विदेशी बजारमा कायम भएको मूल्यको आधारमा नेपाली मूल्य तय गर्ने गरिन्छ । त्यसपछि बजार निर्माताले अधिकतम १२ रुपैयाँ ५० पैसासम्म थप गरेर मूल्य तय गर्न पाउँछ ।
मानौं, बजार निर्माताले प्रति १० ग्राम सुनको कारोबार मूल्य १ हजार २ सय रुपैयाँ तोकेर बिक्रीको लागि राख्यो (मूल्य कोट गर्यो) । किन्ने साधारण ग्राहकले पनि १ हजार २ सय रुपैयाँमा किन्न चाह्यो भने त्यो कारोबार सम्पन्न (म्याचिङ) हुन्छ । तर, ग्राहकले त्यो सुनको मूल्य १ हजार १ सय ५० मा आए मात्र किन्ने बताएमा त्यो कारोबार सम्पन्न हुँदैन । त्यो दर प्रस्ताव नआउँदासम्म आदेश कायम रहिरहन्छ । यसरी ग्राहकले दिएको आदेश पनि निश्चित अवधिसम्मको हुन्छ । ग्राहकले रोजेमा यो एक दिन, वा नजिकको शुक्रवार (गुड टिल फ्राइडे) वा कारोबारमा करारको अवधि रहँदासम्म हुन्छ ।
कारोबार गर्ने बजार निर्माता भने एक मात्र हुँदैनन् । एकभन्दा बढिले कारोबारमा सहभागिता जनाउछन् । बजार निर्माताले किन्ने र बेच्ने दुवै काम गर्न सक्छन् ।

भौतिक भुक्तानी हुने कारोबार (स्पट कारोबार)

मेक्सकै उदाहरण लिँदा कम्पनीले सुन र चाँदीको भौतिक सामानको भुक्तानी कारोबार गर्छ । यसमा ग्राहकले किन्ने काम मात्र गर्न पाउँछन् । यस्तो कारोबार भएको तीन दिन भित्रमा ग्राहकले किनेको सामान प्राप्त गर्छ । यस्तो बस्तुको भुक्तानीको सुनिश्चितता दिने गरी डेलिभरी भेण्डर कम्पनीले एक्सचेन्जसँग सम्झौता नै गरेको हुन्छ । हाल मेक्समा हुने सुन, चाँदीको कारोबारमा सेञ्चुरी कमर्सियल बैंक, आनन्द ज्वेलर्स, ऋद्धिसिद्धि ज्वेलर्सलगायतले डेलिभरी भेन्डर्सको काम गरिरहेका छन् ।

एक्सचेन्जमार्फत किनेको सुन ग्राहकले चाहेमा ज्वेलर्स भण्डारमा भने बिक्री गर्न सकिने व्यवस्था मिलाइएको छ । यसरी ग्राहकले बिक्री गरेको सुनको मूल्य भने एक्सचेन्जमा कायम हुने बजार मूल्यभन्दा नेपाल सुन चाँदी व्यवसायीले तोकेको मूल्य नै आधार मानिन्छ ।

अण्डाको लागि भने विदेशी एक्सचेन्जमा भएको कारोबारको मूल्य लिने गरिएको हुदैन् ।

नगदमा भुक्तानी गरिने कारोबार

मेक्सले फ्युचर्स कारोबारमा भौतिक बस्तुको भुक्तानी कारोबार गर्ने गरेको छैन । मात्रै मूल्यलाई आधार मानेर बनेको सम्झौता पत्रको कारोबार गरिरहने हो । मेक्सले नगद कारोबार गर्ने तरिका दुई ओटा दिएको छ । सर्ट टर्म (अल्पकालिन) र लङ टर्म (दिर्घकालिन) ।

मानौं, तपाई १ लाख रुपैयाँ लिएर बजारमा कारोबारको लागि जानुभयो । यो सुनको कारोबारभन्दा पनि सुनको मूल्य निश्चित अवधिमा यति पुग्न सक्छ भन्ने आधारमा हुने सम्झौता पत्रको कारोबार हो । मानौं, आगामी नोभेम्बरमा सुनको मूल्य कुनै तहमा पुग्छ भन्ने अनुमानमा सम्झौता पत्र बनेको छ । अन्तर्राष्ट्रिय बजारमा नै यस्तो सम्झौता  तयार भएको हुन्छ ।

त्यो सम्झौता अनुसार किनबेच गर्न चाहनु भयो भने तपाईले १ केजी सुनको धरौटी मूल्य ८६ हजार एक्सचेन्जमा बुझाउनु पर्ने हुन्छ । यसरी धरौटी बुझाउदा धरौटीभन्दा केही बढि रकम राख्नै पर्ने हुन्छ । मानौं तपाईले १ लाख रुपैयाँ बुझाउनु भएको छ ।

अब तपाईले कारोबार गर्ने भनेको १० ग्राम सुनको मूल्यको आधारमा हो । १० ग्राम सुनको मूल्य ३५ हजार ८ सय ८० हुन आयो ।

अल्पकालिन तरिकाको कारोबार गर्न चाहनु भयो भने तपाईले पहिले बिक्री आदेश दिनुहुन्छ । अन्तर्राष्ट्रिय बजारमा चलेको यो सम्झौता पत्र यतिसम्ममा अहिले बिक्री हुन सक्छ भन्ने आधारमा तपाईले मूल्य तय गरेर आदेश दिनु हुन्छ । तपाईले दिएको आदेशमा बिक्री हुन्छ भने त्यो सम्झौता पत्रको अवधि नसकिदा (माथीको उदाहरण अनुसार नोभेम्बर) सम्म तपाईले एकपटक कम्तिमा त्यो पुनः खरिद गर्नैपर्ने हुन्छ । तपाईले खरिद गर्नु भएन भने पनि अवधि समाप्तिमा तपाईले त्यो खरिद गरिएको मानिनेछ । अवधि समाप्तिमा तपाईले बिक्री गरेको मूल्यभन्दा बढि मूल्य बजारमा कायम भएको अवस्थामा तपाईले थप पैसा तिर्नुपर्ने हुन्छ भने कम मूल्य कायम भएमा तपाईले मूल्य अन्तरबाट भएको फाइदा पाउनु हुन्छ ।

तपाईले बिक्री गरेकोभन्दा बढि मूल्य पुगेपछि धरौटी सहित राख्नु भएको १ लाख रुपैयाँले समेत नखाम्ने अवस्था देखिने वित्तीकै एक्सचेन्जले हरेक रात १२ बजेपछि तपाईलाई पैसा थप्न मार्जिन कल गर्छ । अन्तर्राष्ट्रिय बजारमा रातमा समेत कारोबार हुने भएकोले यहाँ कतिपय एक्सचेन्जले रातको १२ वा २ देखि ३ बजे दैनिक हिसाब गर्छन् र रकम अपुग हुनेलाई खबर गर्छन् । तपाईले रकम थप्न सक्नु भएन भने त्यो कारोबार स्वतः रद्ध हुन्छ ।

दैनिक हिसावअघि नै बजारमा लगानीकर्ताले थप्न पर्ने रकम बढ्दै गयो र ४ प्रतिशतभन्दा बढि देखिएमा त्यो करोबार स्वतः रद्ध हुन्छ र पछि लगानीकर्ताले अपुग रकम तिर्नुपर्ने हुन्छ । लगानीकर्ताको जोखिम कम गर्न ४ प्रतिशतको सीमा राखिएको हो ।

यता, दिर्घकालिन कारोबारमा पहिले तपाईले सम्झौता पत्र खरिद गर्नु हुन्छ । यसको प्रक्रिया पनि बिक्री गर्दा जस्तै खरिद आदेश दिए हुन्छ । तपाईको खरिद सम्पन्न भएमा तपाईले अवधि नसक्दासम्म त्यो सम्झौता पत्र बिक्री गर्नैपर्ने हुन्छ । तपाईले अवधि रहँदा जुनसुकै समयमा त्यसलाई बिक्री गर्न सक्नु हुन्छ । बिक्री गर्दा नाफा भएमा पैसा पाउनु हुन्छ भने नोक्सान भएमा थप्नु पर्छ । तपाईले बिक्री गर्नुभएन भने पनि अवधि समाप्तिपछि त्यो बिक्री भए सरह मानिन्छ र यसअघि भनिए जस्तै नाफा भए रकम पाउनु हुन्छ र घाटा भए रकम थप्नु पर्छ ।

यो बीचमा घाटा हुन लाग्यो र तपाई पैसा थप्नु पर्ने भएमा मार्जिन कल भने आउछ । यदी मूल्य अवधि समाप्त हुनुअघिसम्म बढ्न सक्छ भन्ने लागेमा पैसा थप राखेर पनि कारोबारलाई निरन्तरता दिन सकिन्छ ।


प्रकाशित | २०७४ भाद्र २ प्रकाशित १२:५१

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ